२०८१ असोज ३०, बुधवार , ०६:१५:२४ बजे

Sajhamanch
'

वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतक परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। यसअघि सरकारले विदेशमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई ७ लाख रुपैयाँ दिँदै आएको थियो। यो रकम बढाएर १० लाख पुर्‍याइएको हो।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वैदेशिक रोजगार नियमावली २०६४ मा छैटौँ संशोधन गरेर ७ लाखको क्षतिपूर्ति रकम १० लाख पुर्‍याउने निर्णय गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।

७ लाख क्षतिपूर्ति रकमलाई १० लाख रुपैयाँ पुर्‍याइएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। उनका अनुसार नियमावली राजपत्रमा प्रकाशित भएपछि क्षतिपूर्ति कार्यान्वयनमा आउनेछ। ‘दसैँपछि मृतक कामदारको परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्’, उनले भने।

२०७४ सालसम्म वैदेशिक रोजगारका क्रममा मृत्यु हुने आश्रित परिवारले ३ लाखको क्षतिपूर्ति रकम पाउने गरेकोमा ४ लाख बढाएर ७ लाख रुपैयाँ पुर्‍याइएको थियो।

हाल मृतक कामदारका परिवारले बिमा कम्पनीबाट पोलिसीको सर्तअनुसार १४ लाख रुपैयाँसम्म पाउने गरेका छन्। नियमावली परिवर्तनपछि बिमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले २४ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने बोर्डले जनाएको छ।

श्रमिकले कल्याणकारी कोषका लागि २ हजार ५०० रुपैयाँसम्म जम्मा गर्नुपर्ने प्रावधान छ। तीन वर्षभन्दा थोरै समयका लागि रोजगारीमा जानेले १५०० र ३ वर्षदेखि १० वर्षसम्मको समयका लागि जानेले कल्याणकारी कोषमा २५ सय बुझाउनुपर्नेछ। यसरी जम्मा भएको रकमबाट बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारलाई क्षतिपूति विवरण गर्दै आएको छ।

हाल साप्ताहिक औसतमा २० जना मृतकका आश्रित परिवारले क्षतिपूर्ति बुझ्ने गरेको बोर्डको तथ्यांकमा छ। क्षतिपूर्ति रकम बढे पनि श्रम स्वीकृतिका लागि वैदेशिक रोजगारमा जाने कामदारले थप रकम कोषमा बुझाउनुपर्नेछ।

बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अंगभंग भएका व्यक्तिका आश्रित परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धित हकवालाको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ। त्यसैगरी घाइते वा अंगभंग कामदारको उपचार खर्च पनि बोर्डले व्यहोर्ने नियमावलीमा व्यवस्था छ।

सम्बन्धित खबर