२०८१ पौष ६, शनिवार , ०७:५३:४२ बजे

Sajhamanch
'

स्थानीय तह-प्रहरी-विद्यालय पाठ्यक्रमका लागि भद्रपुरमा त्रिपक्षीय समझदारी

मङ्गलवार, असोज १५, २०८१

भद्रपुर । स्थानीय तह–प्रहरी—विद्यालय सम्पर्क अन्तर्गत नेपाल प्रहरी—विद्यालय तथा भद्रपुर नगरपालिका बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” लाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रहरी चौकी जलथलका प्रमुख, प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०”को आवश्यकता, औचित्य र विषयवस्तु माथि प्रस्तुतीकरण गरेका थिए ।

उक्त समझदारी पत्रमा नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, नगरपालिका शिक्षा शाखाको तर्फबाट योगेन्द्र पौडेल, नगरपालिकाका सम्पूर्ण विद्यालयहरूको तर्फबाट भद्रपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ गुरूङले त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर पत्रको रोहबरमा भद्रपुर नगर प्रमुख गणेश पोखरेल तथा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, सामाजिक विकास समितिका संयोजक सीता गुरागाई, झापाका प्रहरी प्रमुख मिलन केसी लगायतले मन्तव्य राख्दै असल नागरिक उत्पादनमा पाठ्यपुस्तक प्रभावकारी रहेको धारणा राखेका थिए ।

सम्बन्धित खबर