२०८१ पौष ६, शनिवार , ०९:५१:५३ बजे

Sajhamanch
'

जापानको प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित, आजै राजाले नियुक्त गरेपछि मन्त्रिपरिषद् विस्तारको तयारी

मङ्गलवार, असोज १५, २०८१

झापा । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी आज प्रतिनिधिसभामा भएको मतदानबाट निर्वाचित भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको हप्ता लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षमा निर्वाचित भएका इशिबालाई सत्तारूढ गठबन्धनसहित अरू केही दलले मत दिएका खबरमा उल्लेख छ ।

अब उनलाई शाही दरबारमा हुने एक भव्य समारोहमा सम्राट नारुहितोले औपचारिक रूपमा नियुक्त गर्ने छन् । त्यसपछि इशिबाले मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

जापानको संसद्को तल्लो र माथिल्लो दुवै सदनमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ । प्रधानमन्त्री इशिबाले जापानको घट्दो जनसङ्ख्या र कमजोर बन्दै गइरहेको अर्थव्यवस्थासहित धेरै चुनौतीको सामना गर्नुपर्ने खबरमा उल्लेख छ ।

यस्तै राष्ट्रिय सुरक्षा मोर्चामा चीन, उत्तर कोरिया र रुसबाट बढ्दो खतरा र अर्को महिना अमेरिकामा निर्वाचित हुने नयाँ राष्ट्रपतिसँग सम्झौता गर्ने विषयलाई पनि उहाँको चुनौतीका रूपमा हेरिएको छ ।

इशिबाले यसै महिना तल्लो सदन भङ्ग गर्ने र प्रारम्भिक चुनावको आह्वान गर्ने योजना पनि बनाएका छन् । प्रधानमन्त्री हुनुअघि नै संसद् भङ्ग गर्ने र चुनाव गर्ने योजना सुनाएको भन्दै विपक्षीले उनको चर्को आलोचना गरेका छन् ।

सम्बन्धित खबर