२०८१ माघ ८, मङ्गलवार , ०५:५२:०१ बजे

Sajhamanch
'

रोजगारीका लागि दुई महिनामै एक लाख १५ हजारले छोडे देश

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा एक लाख १५ हजार ६७२ जना वैदेशिक रोजगारीमा गएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५७५ र भदौमा ५६ हजार ९७ जना युवाले श्रमस्वीकृति लिएर ७९ देश पुगेका छन्। श्रमस्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ र ३६ प्रतिशत बिदामा आएर पुनः जाने गरेको विभागको तथ्यांक छ।

यो गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी भएको विभागले जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ६ हजार ४५९ श्रम स्वीकृति लिएर विदेशीएका थिए।

पछिल्लो ३ वर्षमा २२ लाख ५४ हजार युवा रोजगारीको खोजीमा ९३ देश पुगेको विभागको तथ्यांकमा छ। वार्षिक ७ लाख १४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार दुई बर्षयता विकासित र युरोपका देश जाने कामदारको संख्या पनि बढ्दो छ।

श्रमस्वीकृति सेवा पूर्ण अनलाइन, श्रमिकमैत्री कानुन परिमार्जन र रोजगारदाता देशमा श्रमिक अभावका कारण विदेशीनेको संख्या बढेको उनको भनाइ छ।

पछिल्लो समय करारअवधि सकिएर आएका कामदार पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढेको र व्यक्तिगत भिसामा जाने कामदारको संख्या बढेको विभागले जनाएको छ।

गत आवमा रोजगारी खोज्दै ७ लाख ४१ हजार र अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएको विभागका तथ्यांकमा छ।

सम्बन्धित खबर