
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपश्चात् एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् । शनिबार मदन भण्डारी फाउन्डेसनले ललितपुरको जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताएकी हुन् ।
उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याएकी हुन् । आगामी निर्वाचनसम्म एमालले फाउन्डेसनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रहसमेत गरिन् ।
उनले भनिन्, ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । वाम आन्दोलनका तर्फबाट पनि हो । सबैले प्रमुख अतिथि भनेर बोलाउनुपर्ने भएको छ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरुमा प्रमुख अतिथि बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननीय बन्नुभएको छ ।
पार्टीका कार्यक्रममा पार्टीका नेताहरु जानुहुन्छ । सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनूस् । त्यो भएपछि मात्र मैले पालो पाउने भएँ ।’
उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको बताइन् । उनले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको बताइन् ।