२०८१ असोज ३, बिहिवार , ०२:४५:१२ बजे

Sajhamanch
'

शिक्षक हित साकोसको कारोबारमा बढोत्तरी : १४,०३,५५८ रुपैयाँ खुद नाफा आर्जन

बिहिवार, असोज ३, २०८१

झापा । झापाली शिक्षकहरुले सञ्चालन गरेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ नेफ्सकोनका महासचिव घनश्याम अधिकारीले उद्घाटन गरेका हुन् ।

साधारण सभामा अध्यक्ष गौतमले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आगामी कार्यभारहरु बारे जानकारी दिए । उनले संस्था विकासका लागि गरिएका प्रयासहरु शीर्षकमा प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत सुशासन, आन्तरिक सक्षमता र सेवामा गुणस्तरीयता वृद्धिका लागि संस्थाको कारोबारलाई कम्प्युटर प्रविधिमा लैजाने, क्लाउड स्टोरेजसहितको सफ्टवेयर प्रविधि प्रयोग गर्ने तथा एसएमएस बैंकिङ सुविधा सञ्चालन गरिएको जानकारी दिए ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गौतमले सदस्य विस्तारको लक्ष्य १२ प्रतिशत राखिएकोमा ३७ दशमलव ९५ प्रतिशत हासिल गरेको जानकारी दिए । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार शिक्षक हित साकोसको सेयर सदस्य संख्या अब महिला ३६७ र पुरुष ९८४ गरी १३५१ जना पुर्याइएको छ ।

संस्थाको शेयर पूँजी ८८ लाख २९ हजार ६०० रुपैयाँ पुर्याइएको छ भने निक्षेप रकम ३ करोड १५ लाख ४५ हजार ८४७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थाको मेरुदण्ड मानिने जगेडा कोषमा सो साकोसले ५७ लाख ४ हजार २४४ रुपैयाँ पुर्याएको छ ।

सो साकोसका सेयर सदस्यहरूमाझ संस्थाको ३ करोड ११ लाख ९१ हजार २३३ रुपैयाँ ऋण लगानी भएको छ भने सहकारी बैंक तथा संघहरूमा ६ लाख ३२ हजार लगानी गरिएको प्रतिवेदनमा जनाइएको छ ।

संस्थाले समीक्षा वर्षमा १४ लाख ३ हजार ५५८ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा संस्थाका सदस्यहरुलाई ५० हजार रुपैयाँ वितरण गरिएको अध्यक्ष गौतमको भनाई छ । उनका अनुसार उपचार सहयोगार्थ सेयर सदस्य शरण प्रधान र भोजप्रसाद आचार्यलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

काजक्रिया सहयोग वापत साकोसका संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठकको परिवारलाई १५ हजार रूपैयाँ र विष्णुप्रसाद गुरागाईलाई १५ हजार रुपैयाँ प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

चालू वर्षदेखि संस्थाले ८४ वर्ष उमेर पूरा भएका सदस्यहरुलाई चौरासी पूजाखर्च वापत ५ हजार रुपैयाँ प्रदान गर्ने प्रस्ताव गरिएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका महासचिव घनश्याम अधिकारीले संघीयता कार्यान्वयनमा आए पछि तीनवटै तहका सरकारले सहकारीलाई चुस्त ढंगले नियमन र नियन्त्रण गर्न नसकेको जिकिर गरे । उनले सरकारले सहकारी संस्थाको नियमन र नियन्त्रण गर्न सक्षम निकाय एवं संयन्त्र निर्माण गर्न ढिलाई गर्न नहुने पनि सुझाव दिएका छन् ।

सहकारी ऐनमा नै उल्लेख गरिएको कर्जा सूचना केन्द्रसमेत नबनाएर सहकारी अभियानलाई निराशातर्फ धकेलेको आरोप लगाउँदै नेफ्स्कोनका महासचिव अधिकारीले अब सरकारले छिट्टै यसको पनि कार्यान्वयन गर्न थाल्नुपर्ने सुझाव दिए ।

देशभरका ३७ लाख नेपाली नागरिकहरू बचत तथा ऋण सहकारी संस्थाहरुमा आबद्ध रहेको अवगत गराउँदै विश्वभर नै वित्तीय तलवितल भइरहेकाले नेपालमा पनि आर्थिक मन्दी आएको बताए ।

साकोसका उपाध्यक्ष हरिप्रसाद न्यौपानेले सञ्चालन गरेको उक्त साधारण सभा समारोहमा संस्थाले विभिन्न क्षेत्रमा योगदान गर्ने दर्जनौं व्यक्तिहरूलाई सम्मानित र पुरस्कृत गरेको छ ।

जस अनुसार उत्कृष्ट बचतकर्ता सदस्यमा तारा निरौला, उत्कृष्ट बाल बचतकर्ता सदस्य मनिका पौडेल र उत्कृष्ट ऋण कारोबारी सदस्य नन्दकुमार बस्नेत रहेका छन् ।

यसैगरी कक्षा १२ उत्तीर्ण संस्थाका सदस्यका छोराछोरीहरूमध्ये ३ दशमलव ८२ जीपीए प्राप्त रोहन पोखरेल र ३ दशमलव ७५ जीपीए प्राप्त छात्रा प्रकृति खरेललाई पुरस्कार प्रदान गरियो । यसैगरी २०८१ सालको कक्षा १२ को परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क हासिल गर्ने नवीन तिवारी ३ दशमलव ८८ र पल्पसा सेढाई ३ दशमलव ८१ लाई पुरस्कार प्रदान गरियो ।

संस्थाले जेष्ठ सेयर सदस्य सम्मान केदारबहादुर बुढाथोकीलाई प्रदान गरेको छ । साधारणसभामा उपस्थित अतिथि तथा सहभागीहरुलाई सञ्चालक सदस्य देउमाया दाहालले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर