२०८१ असोज ३, बिहिवार , १०:०७:१८ बजे

Sajhamanch
'

लेबनानमा ‘हाते पेजर’ पछि ‘वाकीटकी’ विस्फोट, कम्तीमा २० जनाको ज्यान गयो

बिहिवार, असोज ३, २०८१

झापा । लेबनानमा लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने वाकीटकीहरू विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ ।

वाकीटकी विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको र ४५० जनाभन्दा धेरै घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हिजबुल्लाहको पकड क्षेत्र बेरुत, बेका उपत्यका, दक्षिणी लेबनान लगायतका क्षेत्रमा वाकीटकी विस्फोट भएको खबरमा उल्लेख छ ।

यसअघि गएको मङ्गलवार हिजबुल्लाह सदस्यहरूको पेजरहरू विस्फोट हुँदा १२ जनाको ज्यान गएको थियो । कतिपय विस्फोट अन्तिम संस्कारका क्रममा भएका थिए ।

हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । विस्फोटनको घटनाबारे इजरायलले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासलाई सहयोग गरेको आरोपमा इजरायलले हिजबुल्लाहमाथि पनि आक्रमण गर्दै आएको छ । इजरायलका रक्षामन्त्री याभ गालान्टले ‘युद्धको नयाँ युग’ शुरू भएको बताएपछि इजरायली सेना पनि उत्तरी क्षेत्रमा तैनाथ गरिएको थियो ।

यसैबीच यो घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो खतराबारे चेतावनी दिँदै सबै पक्षलाई शान्ति कायम गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर