२०८१ असोज २, बुधवार , ०५:५८:४३ बजे

Sajhamanch
'

डिजिटल साक्षरता विकास गर्नुपर्नेमा शिक्षामन्त्रीको जोड

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डिजिटल साक्षरता विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

आजको विज्ञान प्रविधिको युगमा नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड दिइन् । त्यसका लागि डिजिटल साक्षरता विकास गर्नुपर्ने बताएकी हुन् ।

विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अनुसन्धानलाई उत्पादनसँग जोडेर दिगो पूर्वाधारको विकास गर्नुपर्ने बताइन् ।

त्यसका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता हुने उनले बताइन् ।

विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति रहेको उनले बताइन् ।

वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गरिने उनले बताइन् ।

कार्यक्रममा युवा उद्यमी डा. प्रतिभा पाण्डे, शिक्षा सचिव डा. दीपक काफ्ले र विज्ञान सचिव विश्वबाबु पुडासैनीले आफ्नो धारणा राखेका थिए । समारोहमा विज्ञान प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान विभिन्न क्षेत्रका महानुभावलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन रोबोटिक प्रविधियुक्त इलेक्ट्रोनिक एपबाट पानसमा दियो बालेर गरिएको थियो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपतिहरू, विभिन्न मन्त्रालय र आयोगका सचिव तथा अन्य कर्मचारीहरू,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति, सचिव तथा अन्य कर्मचारीहरू, प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधि,युवा वैज्ञानिक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता थियो ।

यस वर्षको विज्ञान दिवसको आदर्श वाक्य ‘विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि’ रहेको छ । विज्ञान तथा प्रविधिको महत्त्वलाई आत्मसात् गर्दै यस क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र खोजमूलक विषयको प्रचार प्रसार गरी समुदायलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभालाई प्रोत्साहन गर्न नेपाल सरकारले २०६९ सालदेखि असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।

सम्बन्धित खबर