२०८१ पौष २३, मङ्गलवार , ०२:४३:०३ बजे

Sajhamanch
'

कर्णाली साकोसमा सदस्य विस्तारित भेला : अफवाहका पछि नकुद्न सदस्यहरुलाई अध्यक्ष श्रेष्ठको सुझाव

बुधवार, भदौ २६, २०८१

झापा । नेपालका उत्कृष्ट सहकारीहरुको सूचीमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सदस्य विस्तारित भेलाको आयोजना गरेर वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ ।

संस्थाले आफ्ना ४ वटा सेवा केन्द्रबाट चुनिएर आएका १०५ जना प्रतिनिधिहरुलाई बुधबार सुरुङ्गामा विस्तारित भेला आयोजना गरी सहकारी शिक्षा एवम् वित्तीय साक्षरता प्रवाह गरेको हो ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिका संयोजक एवम् संस्था सञ्चालक समितिका सचिव भूपाल बस्नेतको अध्यक्षतामा आयोजित विस्तारित भेलामा शरणामति, शिवगञ्ज, झिलझिले र सुरुङ्गा सेवाकेन्दका सदस्य प्रतिनिधिहरु सहभागी थिए । यसअघि भाद्र ९ गते दमकमा ७ वटा सेवा केन्द्रका प्रतिनिधिहरुको भेलामा यस्तो कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो विस्तारित भेलामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले वर्तमानमा सहकारी अभियानको अवस्था, आर्थिक मन्दी र वित्तीय संकटका बाह्य कारणहरु, कर्णाली साकोसको वित्तीय कारोबारको अवस्था एवम् सदस्यहरुको लागि पुर्याइरहेको योगदान र सेवा सुविधाहरुका बारेमा सहजीकरण गरेका थिए ।

आफ्नो प्रस्तुतिमा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को लागि कर्णाली साकोसले गरेका नीतिगत परिमार्जनहरु बारे प्रष्ट पार्दै १५ वर्ष अगाडिदेखि संस्थाको निरन्तर शेयर सदस्य रही वित्तीय कारोबार गर्ने सदस्यहरुलाई सेवाकेन्द्र स्तरमा सम्मान गर्ने, परिचयपत्र प्रदान गर्ने, असल ऋणिहरुलाई ग्रिनकार्ड प्रदान गर्ने, कार्यक्षेत्रका पालिकाहरुसँगको साझेदारीमा उद्यमशीलता तालिम प्रदान गर्ने र तालिम लिएका सदस्यहरुलाई उद्यम गर्न नियमानुसार कर्जा प्रवाह गर्नेलगायत विषय बारे जानकारी दिए ।

सहकारी र लघुवित्तका विरुद्ध अफवाह फैलाउने तथा सदस्यहरुलाई भड्काउने कार्य भइरहेको प्रति सजग गराउँदै अध्यक्ष श्रेष्ठले कर्णाली साकोसका सदस्यहरुले आफ्नो संस्थालाई नजिकबाट चिनेर व्यवहार गर्न तथा अफवाहका पछि नकुद्न सुझाव पनि दिएका थिए ।

यसैगरी संस्थाका सचिव भूपाल बस्नेतले संस्थाले प्रदान गरेका सुविधाहरु पउने सदस्यहरु, संस्थाबाट कर्जा लिएर उद्यम गरिरहेका सदस्यहरु, संस्थाको सदस्यहरुको परिवारमा कर्णाली साकोस पुगेर मल्हमपट्टी गरेका दृश्यहरु समावेश गरेको करिब २५ मिनेट लामो भिडियो फुटेजहरु प्रस्तुत गरेर संस्था र सदस्यबीचको अन्तरसम्बन्ध प्रष्ट्याएका थिए ।

सो विस्तारित भेलामा सदस्यहरुले संस्थाको विशेष उपचार कोषको सदस्य बने तापनि गम्भीर उपचार गर्दा सरकारले उपलब्ध गराएको बीमा सुविधाको रकम कट्टा गरेकोप्रति गुनासो गरेका थिए । यस्तै प्राविधिक शिक्षा अध्ययनका लागि स्नातक तहमा पनि सुविधा थप गर्नुपर्ने, तालिम लिएका सदस्यहरुलाई स्वरोजगार बनाउन संस्थाले पहल गर्नुपर्ने सुझाव राखेका थिए ।

संस्थाको सुरुङ्गा सेवा केन्द्रका प्रमुख रविन कार्कीले सञ्चालन गरेको सो विस्तारित भेलामा उपस्थित सेयर सदस्यहरुलाई शिवगञ्ज सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक रामचन्द्र सिटौलाले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर