२०८१ चैत ४, सोमवार , ०४:३३:४० बजे

Sajhamanch
'

भियतनाममा शक्तिशाली आँधीका कारण १२७ जनाको ज्यान गयो, ५४ जना बेपत्ता

बुधवार, भदौ २६, २०८१

झापा । उत्तरी भियतनाममा शक्तिशाली टाइफुन यागी आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १२७ जना पुगेको छ । गएको शनिवार आएको शक्तिशाली टाइफुन पछि भइरहेको ठूलो वर्षा, पहिरो र बाढीमा परी अरु ५४ जना हराइरहेका छन् ।

पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनाएको बीबीसीले जनाएको छ ।

पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने त्यहाँका अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् ।

यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली आँधी हो । भियतनामको व्यस्त रहने फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जानकारी दिएका छन् ।

आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्‍याएको खबरमा उल्लेख छ ।

भियतनामका तटीय सहरहरूबाट झण्डै ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । उत्तरी प्रान्तमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

सम्बन्धित खबर