झापा । जलवायु परिवर्तनको असर कम गर्न सरकारले पर्याप्त कदम नचालेको भन्दै दक्षिण कोरियामा सडक प्रदर्शन भएको छ । हिजो ३० हजार जनाभन्दा धेरै नागरिकले राजधानी सियोलमा प्रदर्शन गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रदर्शनका कारण हिजो सियोलको ट्राफिक अस्तव्यस्त भएको थियो । यो वर्षकै ठूलो प्रदर्शनमा बालबालिकादेखि वृद्धवृद्धासम्म उपस्थित थिए ।
केही वर्ष पहिले दक्षिण कोरियाको जलवायु ठीकै रहेकोमा सरकारले बेलैमा उपयुक्त नीति नल्याउँदा अहिले अवस्था विग्रिसकेको प्रदर्शनकारीको आरोप छ ।
जलवायु परिवर्तनबाट नागरिकको जीवन रक्षा र मानव अधिकारको सम्मानका लागि सरकारले पहल नगरेको पनि उनीहरुको भनाइ छ ।
दक्षिण कोरियाको सर्वोच्च अदालतले गएको महिना देशको जलवायु परिवर्तन कानून आधारभूत मानव अधिकारको रक्षा गर्न र भावी पुस्तालाई रक्षा गर्न असफल भइरहेको बताएको थियो ।
सन् २०५० सम्म कार्बन उत्सर्जन शुन्यमा झार्ने लक्ष्य राखेको दक्षिण कोरियाले यसलाई पूरा गर्नेगरी काम गरेको छैन । दक्षिण कोरिया संसारका २० वटा ठूला अर्थतन्त्रको समूहमा अष्ट्रेलिया पछि सबैभन्दा ठूलो कोइला प्रदूषक हो । त्यहाँ नवीकरणीय उर्जाको प्रयोग निकै कम मात्रामा भइरहेको छ ।