२०८१ पौष १२, शुक्रवार , ०८:११:४७ बजे

Sajhamanch
'

आमा–छोरा हत्या घटना अनुसन्धानमा खटिए प्रहरी

शुक्रवार, भदौ २१, २०८१

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं. १० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना भएको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जोहरी दरखास्त दर्ता भएको छैन ।

बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र उनकी ६ वर्षीय छोरा आरुष थापा मृत फेला परेका थिए । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कटारीको टोली घटनास्थल पुगेका थिए ।

मृतकहरूको शव सर्जमिन मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले जानकारी दिएका छन् ।

बिहीबार बेलुकीसम्म पीडितको तर्फबाट कसैले जाहेरी दरखास्त प्रहरीमा नदिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । हत्या गरिएका निर्मला थापाको श्रीमान् अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए ।

श्रीमानले दोस्रो विवाह गरेपछि निर्मला एक छोरासँग गाउँको वडा कार्यालय नजिकै पसल सञ्चालन गर्दै आएकी थिइन् । बिहीबार बिहान आमा–छोरा नै बेडमा घोप्टो अवस्थामा मृत भेटिएको र टाउकामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा अनुसन्धानका लागि विज्ञ प्रहरी टोली खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

सम्बन्धित खबर