२०८१ माघ २४, बिहिवार , ०३:३९:५३ बजे

Sajhamanch
'

भेनेजुएलामा राष्ट्रपतिका विपक्षी उम्मेदवार गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी

मङ्गलवार, भदौ १८, २०८१

झापा । भेनेजुएलामा हालैको राष्ट्रपतीय चुनावमा विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

राष्ट्रपति निकोलस मादुरो निकट रहेको सरकारी वकिलको कार्यालयले गरेको अनुरोधपछि एक न्यायाधीशले गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी गरेका बीबीसीले जनाएको छ ।

राष्ट्रपति मादुरोलाई निर्वाचन परिषद्ले जुलाईको चुनावमा विजयी घोषणा गरेको थियो । परिषद्का धेरैजसो सदस्यहरू राष्ट्रपति मादुरोकै समर्थनमा छन् ।

तर सरकारले आफ्नो विजयको दाबीलाई समर्थन गर्ने कुनै प्रमाणहरू प्रकाशित गर्न सकेको छैन । विपक्षीहरूले भने उनीहरूको मतदान डाटाले गोन्जालेजले सजिलै जितेको देखाएको बताउँदै आएका छन् ।

यसैबीच अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान नियन्त्रणमा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै अमेरिकाले मादुरोको विमान डोमिनिक रिपब्लिकबाट नियन्त्रणमा लिएको हो ।

अमेरिकाको न्याय विभागले विमान गैरकानूनी रूपले १३ मिलियन डलरमा किनिएको आरोप लगाएर विमानलाई नियन्त्रणमा लिई फ्लोरिडा लगिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्नेबारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

सम्बन्धित खबर