२०८१ भदौ २९, शनिवार , ०१:४१:०६ बजे

Sajhamanch
'

एमपक्स खोप कङ्गोमा केही दिन भित्र पुग्छ : विश्व स्वास्थ्य सङ्गठन

शनिवार, भदौ १५, २०८१

झापा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

डब्ल्यूएचओले गएको अगस्ट १४ तारिखमा एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रुपमा घोषणा गरेको थियो । यसवर्ष कङ्गोमा अहिलेसम्म १८ हजार जनाभन्दा धेरै सम्भावित केस रिपोर्ट गरिएको छ । जसमा ६२९ जनाको ज्यान गएको छ ।

बुरुन्डी, रुवान्डा, युगान्डा, स्विडेन, थाइल्यान्डलगायतका देशमा पनि सङ्क्रमणको पुष्टि भइसकेको छ । डब्ल्यूएचओले खोपमा पहुँच र वितरणलाई तीव्रता दिने गरी काम गरिरहेको जनाएको छ ।

अफ्रिकी देश कङ्गोमा तीव्र रूपमा फैलिएको एमपक्स (मङ्कीपक्स) को नयाँ भेरिएन्ट ‘क्लेड १ बी’ को संक्रमण अफ्रिकाबाहेकका महादेशमा पनि देखिन थालेपछि जोखिम थप बढेको छ ।

श्वासप्रश्वासका साथै थुक,र्‍याल, सङ्क्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट यसको सङ्क्रमण सर्ने जोखिम हुन्छ । एमपक्स भाइरस सन् १९५८ मा पहिलोपटक डेनमार्कमा खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो ।

त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो । मान्छेमा भने पहिलो पटक सन् १९७० मा अफ्रिकी देश कङ्गोमा ९ महिने बालकमा सङ्क्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खबर