२०८१ पौष २५, बिहिवार , ०९:१७:२५ बजे

Sajhamanch
'

शहीद धर्मभक्त माविका प्रअलाई लान्छना लगाएर हटाउन खोजिँदै

शुक्रवार, भदौ १४, २०८१

विद्यालयको प्रधानाध्यापक नियुक्ति शिक्षा ऐन अनुसार कि गाउँपालिकाको इच्छाअनुसार !

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयमा विगत केही दिनदेखि शैक्षिक वातावरण खलबलिएको छ ।

स्थानीय सरकारको बहुलठ्ठीपनाका कारण करिब १५ दिनदेखि सो विद्यालय अशान्त भएको हो । मूलतः कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिङ राईले आफ्नो ‘इन्ट्रेस्ट’मा सो विद्यालयको प्रधानाध्यापक बनाउने चलखेल गरेपछि शैक्षिक वातावरण खलबलिएको स्थानीयले बताएका छन् ।

केही वर्षदेखि सो विद्यालयमा नेपाली विषय पढाउने नवराज नेम्वाङलाई प्रधानाध्यापक नियुक्त गर्नु भनी गाउँपालिकाले २०८१ साउन २९ गते विद्यालयमा पत्राचार गरेकोमा विद्यालय व्यवस्थापन समितिले पालिकाको पत्रलाई ठाडै अस्वीकार गरी शिक्षा ऐन २०२८ को संशोधनसहित परिच्छेद १७ को दफा ९३ (२) मा व्यवस्था भए अनुसार विद्यालयमा कार्यरत स्थायी शिक्षक मध्येबाट १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ शिक्षक प्रधानाध्यापक हुन पाउने प्रावधान बमोजिम साउन ३० गते शिवप्रसाद भट्टराईलाई नियुक्त गर्यो ।

प्रधानाध्यापकको नियुक्ति गाउँपालिकाको निर्देशन अनुरुप नभएको भन्दै क्यामेरासहित विभिन्न मान्छेहरु विद्यालय हाताभित्र प्रवेश गरेर शिक्षकहरूलाई जथाभावी गालीगलौज गर्दै धम्की दिई शैक्षिक वातावरण नै खलबल्याइरहेको विद्यालय प्रसाशनले जनाएको छ । ससाना अबोध बालबालिका अध्ययन गर्ने विद्यालयहरु शान्ति क्षेत्र हुनुपर्छ तर त्यहीँ गएर शैक्षिक वातावरण बिगारिरहेकोमा विद्यार्थीहरु नै अग्रसर भएर विभिन्न निकायलाई ध्यानकर्षण गराउन बाध्य भएका छन् ।

बिहीबार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समूहले प्रधानाध्यापक नियुक्तिको विषयमा राजनीति गरिरहेको भन्दै सो विषय विद्यालय हाताभन्दा बाहिर नै बसेर सरोकारवालाहरुले मिलाउनु पर्ने सुझावसहित विद्यालय व्यवस्थापन समिति, कमल गाउँपालिका वडा नं. ३ को कार्यालय र प्रहरी चौकी केर्खालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शिक्षा ऐन बमोजिम नै ज्येष्ठताको आधारमा प्रधानाध्यापक नियुक्त शिवप्रसाद भट्टराईलाई विभिन्न लान्छना लगाउँदै इज्जत र प्रतिष्ठामाथि नै आँच आउन लागेको थाहा पाएर सरोकारवालालाई ध्यानाकर्षण गराएको विद्यालर्थीहरुको भनाई छ । कमल गाउँपालिका ३ नम्वर वडा बाल सञ्जालका अध्यक्ष तथा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा श्रीयान्सी ढुङ्गेल झुटो आरोप लगाएर भट्टराई सरलाई फसाउन खोजेको थाहा पाएर आफूहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको बताउँछिन् ।

यसैगरी विद्यालयका बाल सञ्जालका अध्यक्ष लक्षण चौधरी हामीलाई को प्रधानाध्यापक बन्नुभयो भन्ने भन्दा पनि विद्यालयको पठनपाठन शान्तिपूर्ण वातावरणमा होस् भन्ने चाहानले ध्यानाकर्षण पत्र बुझाउनु परेको बताउँछन् ।

संघर्ष समितिका नाममा अनाधिकृत मान्छेहरु विद्यालयमा प्रवेश गरी शैक्षिक वातावरण अशान्त नबनाउनका लागि हामी विद्यार्थीले बाध्य भएर यो कदम चाल्नु परेको उनको भनाई छ ।

विद्यार्थीको ध्यानकर्षण पत्र बुझ्दै व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले व्यवस्थापन समितिले नियम संगत र शिक्षा ऐन अनुसार नै प्रधानाध्यापक नियुक्त गरेको दोहोर्याए । व्यवस्थापन समिति अनेदेखा गरिरहन सक्दैन । ‘कोही कसैलाई सो विषयमा असन्तुष्टि भए सामुहिक छलफल गर्न रोकतोक छैन’ व्यवस्थापन समितिका अध्यक्ष खतिवडाले थपे, ‘तर कसैको स्वार्थ पूरा गरिदिन हामी ऐनको उल्लंघन हुन दिँदैनो र झुटो आरोप लगाई सम्बन्धित शिक्षकको इज्जतमा पुर्याएको हानीलाई व्यवस्थापन समिति अनेदेखा गरिरहन सक्दैन ।’

यसैबीच बिहीबार नै संयुक्त संघर्ष समितिको नाममा एउटा पत्रकार सम्मेलन गरी व्यवस्थापन समितिले नियुक्त गरेको प्रधानाध्यापक भट्टराईलाई काम गर्न नदिने बताएको छ । उनलाई चारित्रिक आरोप लगाउँदै प्रधानाध्यापक स्वीकार गर्न नसकिने संघर्ष समितिको भनाई छ ।

व्यवस्थापन समितिले भन्दा अघिल्लो दिन नै गाउँपालिकाले अर्को शिक्षकलाई प्रधानाध्यापक तोकेर पठाइसकेको अवस्थामा ज्येष्ठताको आधार देखाएर भट्टराईको नियुक्ति मान्य नहुने पत्रकार सम्मेलनमा बताइएको थियो ।

यसैबीच सो विद्यालयका शिक्षकहरुले आज शुक्रबार हातमा कालोपट्टी बाँधेर अध्यापन कार्यमा सरिक भए ।

प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विगत १५ दिनदेखि विद्यालयको पठनपाठन अवरोध भएकोले त्यसलाई बन्द गरिनु पर्ने माग राख्तै हातमा कालोपट्टी बाँधेर नियमित काम गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेको प्रधानाध्यापक भट्टराईलाई विभिन्न लान्छना लगाउने, अप्रमाणित आरोप लगाएर नैतिक पतन गराउन दुस्प्रयास गर्ने, शिक्षकहरु माथि आक्रमण गर्ने, कक्षा सञ्चालनमा अवरोध गर्ने, विद्यार्थीलाई जबर्जस्ती कक्षा कोठाबाट निकालेर प्रहरी चौकी पुर्याई प्रधानाध्यापक भट्टराईको विरुद्धमा बयान गराउने जस्ता अवाञ्छित एवम् आपत्तीजनक कार्य निरन्तर भएरहेकोले त्यस्तो कार्य बन्द गर्नका लागि साङ्केतिक रुपमा हातमा कालोपट्टी बाँधेर नियमित पठनपाठन गरेको विद्यालयका निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले बताए ।

सम्बन्धित खबर