२०८१ माघ २४, बिहिवार , ०३:३९:३७ बजे

Sajhamanch
'

बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध हटायो

बिहिवार, भदौ १३, २०८१

झापा । बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामी पार्टीमाथिको प्रतिबन्ध तत्काल लागू हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो ।

सरकारले जमात–ए–इस्लामीको विद्यार्थी सङ्गठन इस्लामिक स्टुडेन्ट्स क्याम्प र यसका अन्य सङ्गठनहरूमाथिको प्रतिबन्ध पनि हटाएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१३ मा शेख हसिना सरकारको पालामा यी सङ्गठनमाथि प्रतिबन्ध लगाइएको थियो । गएको वर्ष बङ्गलादेशको सर्वोच्च अदालतले पनि जमातलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

जमात–ए–इस्लामीमाथिको प्रतिबन्ध फुकुवा भएपछि बङ्गलादेशका लागि राजनीतिमा विकल्प खुलेको छ र यसले देशको चुनावमा आफ्नो भूमिका निर्वाह गर्न सक्छ ।

गृह मन्त्रालयले जमात–ए–इस्लामी पार्टी र पार्टीसँग सम्बन्धित सङ्गठन आतङ्कवादी गतिविधिमा संलग्न नरहेको भन्ने सरकारको धारणा रहेको बताएको खबरमा उल्लेख छ ।

जमात–ए–इस्लामी बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टी हो । यो पार्टीको विद्यार्थी सङ्गठन निकै बलियो छ । यसले देशमा हिंसा र अतिवादलाई बढावा दिएको आरोप लाग्दै आएको छ ।

भारतमा बाबरी मस्जिद विध्वंशपछि बङ्गलादेशमा हिन्दूविरोधी दङ्गा भड्काएको आरोप पनि यो पार्टीमाथि लागेको थियो । जमात–ए–इस्लामीको छवि भारत विरोधी रहेको बताउने गरिएको छ ।

सम्बन्धित खबर