काठमाडौं । घरेलु मैदानमा जारी साफ यु–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले र दोस्रो खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।
उता भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको हो ।
समूह चरणमा नेपाल अपराजित रहँदा तीन गोल गरेको थियो भने एक गोल व्यहोरेको थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दा निराजन धामीले निर्णायक गोल गरेका थिए ।
सन् २०१५ मा नेपालबाट साफ यु–१९ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता कहिले यु–१८ र कहिले यु–१९ को नामबाट पनि भएको छ ।
सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेको नेपाल तेस्रोपटक सेमिफाइनल खेल्दैछ । गत वर्ष घरेलु मैदानमै भएको साफ यु–१९ च्याम्पियनसिपमा भने नेपाल सेमिफाइनलमै पराजित भएको थियो । नेपाल भारतसँग पेनाल्टीसुटआउटमा पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो ।