२०८१ मंसिर १५, शनिवार , ०९:१७:५६ बजे

Sajhamanch
'

मङ्कीपक्स कोभिड भाइरसको नयाँ रुप नभएको डब्ल्यूएचओको भनाइ

बुधवार, भदौ ५, २०८१

झापा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् ‘एमपक्स’ भाइरस कोभिड–१९ को नयाँ भेरियन्ट नभएको बताएको छ ।

मङ्कीपक्सको प्रकोपलाई नियन्त्रण गर्न सकिने भन्दै डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले यो कोभिड भाइरसको नयाँ रुप नभएको बताएका हुन ।

उनले युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । डब्ल्यूएचओले युरोपेली क्षेत्रमा लकडाउन गर्ने कुरा हल्ला मात्र भएको र सत्य नभएको पनि स्पष्ट पारेको छ ।

व्यक्तिबीच छालाको सम्पर्क मङ्कीपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको भन्दै डब्ल्यूएचओले मास्क प्रयोग गरेर मात्र सङ्क्रमण नियन्त्रण गर्न नसकिने बताएको छ । अहिलेको अवस्थामा विश्वव्यापी रुपमा भन्दा पनि सबैभन्दा उच्च जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गरिएको डब्ल्यूएचओको भनाइ छ ।

अफ्रिकी देशबाट फैलिरहेको मङ्कीपक्स ‘क्लेड वान बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।