झापा । संयुक्त राष्ट्रसङ्घले मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ । मध्यपूर्व र उत्तर अफ्रिका (एमइएनए) मा कम्तीमा ७ करोड ७० लाख अर्थात तीनमध्ये एक बालबालिका कुनै न कुनै प्रकारको कुपोषणले पीडित रहेका संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
अध्ययन गरिएका २० देशमा ५ करोड ५० लाख बालबालिका मोटोपनले पीडित रहेका देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । युनिसेफले मोटोपनलाई समेत एक प्रकारको कुपोषण मानेको छ । युनिसेफका अनुसार थप २ करोड ४० लाख बालबालिका पुड्कोपन र दुब्लोपनको शिकार छन् ।
युनिसेफका क्षेत्रीय निर्देशक एडेल खोडरले साना बालबालिकामध्ये एक तिहाइलाई मात्र पौष्टिक खाना उपलब्ध गराइएको बताए। युनिसेफले कुपोषणबाट प्रभावित राष्ट्रलाई उनीहरूको योजना र नीति बनाउँदा पोषणलाई ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्र सङ्घले द्वन्द्व, आर्थिक उथलपुथल र जलवायु परिवर्तनले गएको वर्ष विश्वको झण्डै नौ प्रतिशत जनसङ्ख्यालाई प्रभाव पारेकाले भोकमरी कम गर्ने प्रयासमा अवरोध सिर्जना गरेको जनाएको छ ।