![](https://sajhamanch.com/wp-content/uploads/2024/08/china-car.jpeg)
झापा । चिनियाँ कार निर्माता कम्पनी जीकरले विश्वको सबैभन्दा छिटो चार्ज हुने ब्याट्री बनाएको दाबी गरेको छ । जीकरले आफ्नो नयाँ विद्युतीय गाडीको ब्याट्री अमेरिकी कम्पनी टेस्ला र अर्को चिनियाँ कम्पनी बीवाईडीको तुलनामा छिटो चार्ज हुने बताएको बीबीसीले जनाएको छ ।
कम्पनीले आफ्ना अल्ट्रा–फास्ट चार्जिङ स्टेशनहरू प्रयोग गरेर अपग्रेड अर्थात् सुधार गरिएको ब्याट्रीलाई साढे १० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताएको छ । यसअघि टेस्लाले १५ मिनेटको चार्जमा ‘मोडल थ्री’ कार २८२ किलोमिटर गुड्न सक्ने जनाएको थियो, यो कारको पूर्ण क्षमताको आधाभन्दा थोरैले कम हो ।
जीकरको २०२५ ००७ सेडन आउँदो हप्तादेखि उपलब्ध हुने र यो नयाँ ब्याट्री प्रयोग गरिएको पहिलो गाडी हुने खबरमा उल्लेख छ । यस्तै कम्पनीले जाडो मौसममा माइनस १० डिग्रीको तापक्रममा पनि ब्याट्री आधा घण्टाभन्दा कम समयमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने बताएको छ ।