२०८१ फागुन २, शुक्रवार , ०४:४५:४६ बजे

Sajhamanch
'

बाढी पहिरो लगायतका विपद्‌मा परी अहिलेसम्म २११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति

बुधवार, साउन ३०, २०८१

काठमाडौँ । नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्‌बाट २११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने १४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट १७० जना र अन्य विपद्‌बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य विपद्मा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।

प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशले बेहोरेको छ । बागमती र गण्डकी प्रदेश दुवैमा ५८/५८ जनाको मृत्यु भएको छ । यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरश्चिममा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो अवधिमा १ हजार ३३३ घटना भएकामा ३ हजार ६४७ परिवार प्रभावित भएका छन् । ४०५ वटा घटना भएको कोशीमा सबैभन्दा बढी १ हजार २१२ परिवार प्रभावित भएका जनाइएको छ ।

यस्तै, मधेसमा ५१३, बागमतीमा ४७१, गण्डकीमा ४३७, लुम्बिनीमा ३२६, कर्णालीमा २४० र सुदूरपश्चिममा ४४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राप्त विवरणअनुसार कोशीमा दुई, बागमतीमा ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एकजना बेपत्ता रहेका छन् ।

अघिल्लो वर्षभन्दा बढी यस वर्ष मानवीय क्षति हो । अघिल्लो वर्ष सोही अवधिमा विपद्जन्य घटनामा ७२ जनाको मृत्यु भएको थियो । पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मक रुपमा काम भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । यस वर्ष औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान नै वर्षा भइरहेको छ ।

सम्बन्धित खबर