![](https://sajhamanch.com/wp-content/uploads/2024/07/pahiro-5.jpg)
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो लगायतका विपद्मा परी साउन २८ गते दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ ।
बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी १७३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २२३ जना घाइते भएका छन् ।
यसैगरी बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी ११३ जनाको उद्धार गरिएको छ ।
कार्कीले भने, “बाढीपहिरामा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।”
बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । २७५ वटा घर, १०४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बाढीपहिराबाट ८१२ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ३२२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए।