झापा । अमेरिकी राष्ट्रपति पदका दुई जना उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुने भएको छ । अमेरिकी च्यानल एबीसी न्युजले आउँदो सेप्टेम्बर १० मा ट्रम्प र ह्यारिसबीच पहिलो टेलिभिजन बहस आयोजना हुने तय भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्पले चुनावअघि डेमोक्र्याटिकका उम्मेदवारसँग पटकपटक बहस गर्न आफू तयार रहेको बताएका थिए। यस्तै ह्यारिसले हिजो मिशिगनमा भएको एउटा कार्यक्रममा आफू ट्रम्पसँगको बहसमा सहभागी हुने पुष्टि गर्दै थप बहसका लागि पनि तयार रहेको बताएको खबरमा उल्लेख छ ।
अमेरिकामा आउँदो नोभेम्बर ५ मा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा छन् ।
यसअघि गएको जुनमा वर्तमान राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच चुनावी बहस भएको थियो । त्यो बहसमा बाइडेन निकै अलमलिएका थिए। त्यही कारण पार्टीभित्र र बाहिर उनको आलोचना भएपछि उनी अन्ततः उम्मेदवार नबन्ने निणर्यमा पुगेका थिए। त्यसपछि कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेकी हुन ।