झापा । बङ्गलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सह–महासचिव हसन महमुदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी हिरासतमा राखिएको छ । उनले देश छोड्न खोजिरहेका बेला अध्यागमन प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
बङ्गलादेशमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत गएकी छन् । अझै अशाान्त प्रदर्शन भइरहेको बङ्गलादेशमा सुरक्षाको माग गर्दै प्रहरीले नै हड्ताल शुरु गरेको छ । प्रहरीको हड्तालपछि ढाकाको प्रहरी चौकी, ट्राफिक र विमानस्थलको जिम्मेवारी बङ्गलादेशको अन्सार अर्थात अर्धसैनिक बललाई दिइएको छ ।
अर्धसैनिकहरु स्वयंसेवकका रुपमा आन्तरिक सुरक्षाका लागि मुख्य सुरक्षा बलहरूसँग तैनाथ हुदै आएका थिए । बङ्गलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा १०० जनाभन्दा धेरैको ज्यान गएको छ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका एक नेताको होटलमा प्रदर्शनकारीले आगो लगाउदा हिजो २४ जनाको ज्यान गएको थियो ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्लादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गरेका छन् । महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गदै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड दिए।
राष्ट्रसङ्घले प्रधानमन्त्रीको राजीनामा सम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने योजनासहित देशका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको राष्ट्रसङ्घको कार्यालयबाट निकालिएको विज्ञप्तिमा उल्लेख छ ।