झापा । हमासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ । १३ जुलाईमा गाजामा इजरायलले गरेको आक्रमणमा उनको ज्यान गएको पुष्टि भएको हो ।
इजरायलले यसअघि नै जेइफको ज्यान गएको बताए पनि हमासले अस्वीकार गर्दै आएको थियो । इजरायली सेनाले त्यो आक्रमणमा हमासका अर्का कमान्डर राफा सालेमेह पनि मारिएको जनाएको थियो ।
यसअघि अस्ति राति हमासका शीर्ष नेता इस्माइल हानियाको इरानमा हत्या भएको थियो । इजरायलले नै हानियाको हत्या गरेको भन्दै बदला लिने इरानले चेतावनी दिएको छ ।
पछिल्लो समय इजरायलले लेबनानमा हिजबुल्लाहका नेता र विभिन्न ठाउँमा हमासका नेताहरूको हत्या गरिरहेको छ । इजरायलको कदमका कारण मध्यपूर्वमा ठूलो तनाव हुन सक्ने डर बढेको छ ।