२०८१ माघ ३, बिहिवार , ०९:३५:०५ बजे

Sajhamanch
'

जुलाई महिनामा भारतमा औसतमा ९ प्रतिशत धेरै वर्षा

बिहिवार, साउन १७, २०८१

झापा । हिजो सकिएको जुलाई महिनामा भारतमा औसतमा ९ प्रतिशत धेरै वर्षा भएको छ । कतै कतै सुक्खा र कतै कतै निकै ठूलो वर्षा हुँदा देशभर औसतमा ९ प्रतिशत धेरै पानी परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस पटक भारतमा औसत समयभन्दा चाँडै मनसुन शुरू भएकाले देशभर वर्षा भएको थियो । यस पटकको मनसुनमा भारतका मध्य र दक्षिणी राज्यहरूमा निकै धेरै वर्षा भएको मौसम विभागको तथ्याङ्कले देखाएको छ ।

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार जुलाई महिनामा देशको दक्षिणी र मध्य क्षेत्रमा औसतभन्दा झन्डै एक तिहाइ धेरै वर्षा भएको छ भने पूर्वी र उत्तर–पूर्वी क्षेत्रमा २३ दशमलव ३ प्रतिशत कम वर्षा भएको छ । यस्तै उत्तर–पश्चिमी भागमा औसतभन्दा १४ दशमलव ३ प्रतिशत कम वर्षा भएको छ ।

भारतमा जुन १ को आसपास दक्षिणी क्षेत्रबाट शुरू हुने मनसुन जुलाई ८ तारिखसम्म देशव्यापी रूपमा फैलिन्छ । भारतमा वर्षभरिमा हुने कुल वर्षाको ७० प्रतिशत वर्षा मनसुनमै हुने गरेको छ ।

भारतको अर्थतन्त्र पनि मनसुनमै निर्भर रहेकाले कति पानी पर्‍यो भन्ने विषयले भारतीय अर्थतन्त्रसँग पनि प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । सिँचाइ र विभिन्न प्रयोजनका लागि जलाशय र जलभण्डारको पुनर्भरणका लागि पनि भारत मनसुनमै निर्भर रहेको छ । विश्वको दोस्रो ठूलो धान, गहुँ र चिनी उत्पादकको रूपमा रहेको भारतमा सिँचाइको सुविधा गतिलो नहुँदा लगभग आधा कृषि भूमि मनसुनी वर्षामा निर्भर हुने गरेको छ ।

सम्बन्धित खबर