२०८१ भदौ २२, शनिवार , ०७:०१:५५ बजे

Sajhamanch
'

कोशी सरकारबाट माओवादी बाहिरिँदै, भागबन्डाबारे कांग्रेस–एमाले छलफलमा जुट्दै

शुक्रवार, साउन ११, २०८१

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ।

कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो।

‘अहिले हामी भेडेटारको एउटा कार्यक्रममा जान लागेका छौं, फर्केपछि हाम्रो संसदीय दलको बैठक बस्छ, त्यसपछि आजै निर्णय लिनेछौं’, कोशी सरकारका वन तथा पर्यटनमन्त्री नारायण बुर्जा मगरले भने ‘मुख्यमन्त्रीले अब बाटो खुला गरिदिनूस् भनेपछि गर्नैपर्‍यो।’

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा मगरसहित माओवादीका तीन मन्त्री र एक जना राज्यमन्त्री छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि पनि माओवादीले कोशी सरकार छाडेको थिएन।

‘मुख्यमन्त्रीले दलको नेतामार्फत् यस्तो सन्देश पठाउनुभएको छ’, मगरले भने ‘त्यसैले आज दिउँसो बैठक बसेर निर्णय गर्नेछौं।’ माओवादीले कोशी सरकार छाड्ने निर्णय लिएपछि कांग्रेसको प्रदेश सरकार प्रवेशको बाटो खुल्नेछ।

सत्ता गठबन्धनका नयाँ सहयात्रीहरू कांग्रेस र एमालेबीच कोशीको मुख्यमन्त्रीमा आलोपालोको समयसीमा तोक्न, मन्त्रालय र संवैधानिक नियुक्तिहरूको भागबन्डा लगाउन शुक्रबार काठमाडौंमा छलफल सुरु हुँदैछ।

शीर्ष नेताहरुको तहबाट मुख्यमन्त्री पदमा आलोपालोबारे टुंगो लगाउने निर्देशन पाइसकेका दुवै दलले केन्द्रीय नेतृत्वकै उपस्थितिमा यसलाई औपचारिकता दिने बताएका छन्। यही छलफल टुंग्याउन मुख्यमन्त्री हिक्मतकुमार कार्की शुक्रबार काठमाडौं जाँदैछन् ।

मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार माओवादी मन्त्रीहरूको राजीनामा बुझेर स्वीकृत गरेपछि मुख्यमन्त्री कार्की कांग्रेससँग छलफलका लागि काठमाडौं जानेछन्।

‘शुक्रबारबाट हामी दुवै दलले औपचारिक रूपमा छलफल थाल्दैछौं । त्यही छलफल गर्न आजै मुख्यमन्त्री काठमाडौं आउँदै हुनुहुन्छ’, कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले भने, ‘शक्ति बाँडफाँटबारे विषय आजभोलि नै टुंगो लाग्नसक्छ।’

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद भीम पराजुलीका अनुसार पार्टीका शीर्ष नेताहरूको निर्देशन अनुसार मुख्यमन्त्री पदमा एमाले र कांग्रेसले आलोपालोको समयसीमा निर्धारण गर्ने, मन्त्रालयहरूको भागबन्डा गर्ने र संवैधानिक नियुक्तिहरुको भागबन्डा पनि टुंगो लगाउने तयारी छ। त्यसबाहेक चालु आर्थिक वर्षको बजेटमा पुनरवलोकन गर्ने सहमति पनि हुने उनले जानकारी दिए।

‘ढिलोमा आइतबार–सोमबारसम्ममा यी सबै विषयमा सहमति हुनेछ,’ पराजुलीले भने, ‘दुई दल बसेर टुंगो लगाएपछि कांग्रेस प्रदेश सरकारमा सहभागी हुनेछ।’

बुधबार मात्रै काठमाडौमा सम्पन्न कांग्रेस कोशी संसदीय दलको बैठकले सरकारमा सहभागी हुनुअघि भागबन्डा र बजेटबारे सहमति हुनुपर्ने निर्णय गरेको थियो। आफूले नरूचाएको बजेटले सरकार चलाउन नसकिने भन्दै कांग्रेस कोशी संसदीय दलले अहिलेको बजेट पुनरवलोकन गर्नैपर्ने आवश्यकता महसुस गरेको पराजुलीको भनाइ छ।

कांग्रेस नेताहरूका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी बनेपछि पनि ती सहमति गर्न सकिने सन्देश कांग्रेसलाई पठाएका थिए। तर उसले पहिल्यै सबै कुरामा प्रष्टता खोजेपछि पहिले सहमति त्यसपछि मात्रै कांग्रेसको प्रदेश सरकार्मा प्रवेश हुनेछ। कांग्रेस कोशीका सबजसो नेताहरुसंघीय राजधानी काठमाडौंमै छन्।

सम्बन्धित खबर