२०८१ भदौ २३, आइतवार , ०१:३६:४१ बजे

Sajhamanch
'

वैदेशिक रोजगारीमा जानेलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यवसायीलाई विभागको चेतावनी

बिहिवार, साउन १०, २०८१

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यवसायीलाई चेतावनी दिएको छ ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्नेजस्ता कार्य गरेको गुनासा आएको भन्दै यस्तो चेतावनी दिएको हो ।

त्यस्ता गुनासा विभागमा समेत आउने गरेकोले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

म्यानपावर व्यवसायीले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिम वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिएअनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने र सार्ने तथा अन्तर्वार्ताको मितिमा आवेदक जाँदा कार्यालय बन्द हुने गरेको गुनासा विभागमा आउने गरेको विभागका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमार्फत नै त्यस्ता कार्य नगरी विज्ञापन बमोजिम अन्तर्वार्ता गराउन समेत विभागले निर्देशन दिएको छ ।

यसै गरी विभागले अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले समेत तोकिएको मापदण्डबमोजिम तालिम प्रदान नगरेको गुनासा प्राप्त भएको भन्दै विभागबाट अनुगमन गर्दासमेत त्यस प्रकारको अवस्था भेटिएकाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम अनिवार्य तोकिएको मापदण्डबमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले निर्देशन दिएको छ । अन्यथा नियमानुसार कारबाही गर्ने चेतावनी विभागले दिएको हो ।

सम्बन्धित खबर