२०८१ भदौ २२, शनिवार , १०:४५:०४ बजे

Sajhamanch
'

पूर्वतयारी बिनाको यात्रा र मनुराज परिवारको दुर्दान्त अन्त्य

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सधैंझैं बुधबार बिहान बालकोटस्थित घरबाट मनुराज शर्मा एयरपोर्टका लागि निस्केपछि श्रीमती प्रिजा खतिवडा चार वर्षका छोरा अधिराजलाई घर नजिकैको चाइल्ड केयर सेन्टरमा छाडेर अफिस हिँडिन् ।

ऊर्जा मन्त्रालयका सचिवको सचिवालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत प्रिजा र सौर्य एयरलाइन्समा कम्युनिकेसन अधिकृत रहेका मनुराजको ४ वर्षदेखिको यो दैनिकी बुधबारको जहाज दुर्घटनासँगै टुंगिएको छ । पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मनुराज, प्रिजा र अधिराजको ज्यान गएको हो ।

बिहान कार्यालय पुगेपछि मनुराजले प्रिजालाई फोन गरेर सौर्यको जहाज विस्तृत परीक्षण र मर्मतका लागि पोखरा जाने र परिवारलाई लग्न सक्ने सुविधा रहेकाले छोरासहित एयरपोर्ट आउन भनेका थिए ।

त्यसपछि प्रिजा मन्त्रालयबाट सिधैं बालकोटस्थित कोठा पुगिन् । छोरालाई ल्याइन् । प्रिजाका बुबा प्रकाश खतिवडाले मोटरसाइकलमा छोरी र नातिलाई एयरपोर्ट पुर्‍याए र उनी एकीकृत समाजवादीको पार्टी कार्यालयतर्फ लागे ।

नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष रहेका खतिवडा हाल एकीकृत समाजवादीका प्रचार विभाग सचिव छन् । उनी पार्टी कार्यालय पुग्न नपाउँदै छोरी, ज्वाइँ र नाति चढेको सौर्यको जहाज दुर्घटना भएको खबर सुने ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज दुर्घटनामा परी ज्यान गुमाएका १८ जनामध्ये एकै परिवारका यी तीन परेका हुन् । जहाज दुर्घटनापछि खतिवडा परिवारमाथि बज्रपात परेको छ ।

बालकोटस्थित मनुराजको आवासमा उनकी श्रीमती प्रिजा, छोरा अधिराजसँगै ससुरा प्रकाश खतिवडा र सासूआमा उषा पोखरेल बस्दै आएका थिए ।

‘‘छोरी र नातिको पोखरा जाने कुनै कार्यक्रम थिएन । ज्वाइँले बच्चासहित आउनू भनेपछि प्रकाशजीले छोरी र नातिलाई मोटरसाइकलमा एयरपोर्ट पुर्‍याउनुभयो’ खतिवडा परिवारको नजिकै बस्दै आएका पत्रकार भूपराज खड्काले भने, ‘आफू गइरहेकाले श्रीमती र बच्चालाई पनि पोखरा घुमाइदिने सोचका साथ ज्वाइँले बोलाए तर दुर्भाग्य जहाज नै दुर्घटनामा पर्‍यो ।’

६ वर्षअघि विवाह गरेका मनुराज र प्रिजा दम्पतीका एक्ला छोरा हुन् अधिराज । सप्तरीकै अर्याल खलकका मनुराजका बुबा भारतको बेतिया बसाइँ सरेका थिए । मनुराजका दाजु र आमा अहिले भारतको दिल्लीमा बस्दै आएका छन् ।