काठमाडौँ । उच्च अंकले सेयर बजार उकालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएपछि नेप्से परिसूचक पछिल्लो २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ ।
नेप्से झन्डै ६० अंकले बढ्दा २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुग्यो । यसअघि २०७८ चैत अन्तिम साता नेप्से २ हजार ४२० नजिक थियो । त्यसयता निरन्तर घटेर १ हजार ८०० हाराहारीमा झरेको नेप्से फेरि उकालो लागिरहेको छ ।
नेप्से परिसूचक पछिल्लो दुई सातामा करिब ४०० अंक बढिसकेको छ । एक महिनायता बजारले वृद्धिका संकेत देखाए पनि गति समात्न सकेको थिएन । तर पछिल्ला १४ वटा कारोबार दिनमा नेप्से करिब ४०० अंक बढेर बिहीबारसम्म २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुगेको हो ।
सेयर बजारको यो वृद्धिलाई नयाँ सरकारसँग जोडेर विश्लेषण गर्न थालिएको छ । खासगरी गत असार १७ को राति नयाँ गठबन्धन बनाउने विषयमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएपछि सेयर बजारको वृद्धि हेर्दा उक्त विश्लेषण सही पनि देखिन्छ ।
प्राविधिक रूपमा हेर्दा उक्त विश्लेषण शतप्रतिशत सही नदेखिएला । तर आधारभूत रूपमा हेर्दा नकार्ने ठाउँ देखिन्न । किनकि गत असार १७ मा (कांग्रेस र एमालेबीच सहमति भएको दिन) २ हजार ५३ दशमलव ३८ विन्दुमा रहेको नेप्से सोमबारसम्म २ हजार ४०० भन्दा माथि पुगेको छ । यस अवधिमा भएका १४ कारोबार दिनमध्ये दुई दिन नेप्से घटेको छ भने १२ दिन बढेको छ ।
दुई दिनमा नेप्से करिब २२ अंक घट्दा १२ दिनमा नेप्से ४०८ अंक बढेको छ । उक्त अवधिमा नेप्से एक दिन मात्र एकल अंकले बढेको छ भने बाँकी ११ दिन दोहोरो अंकको वृद्धि छ ।
अझ पछिल्ला चार कारोबार दिनमा औसतमा नेप्स ६० अंकभन्दा धेरैले बढेको छ । यसकारण पनि सेयर बजारको यो वृद्धिलाई नयाँ सरकारको आगमनसँग जोडेर हेरिएको जानकार बताउँछन् ।
एमाले र कांग्रेस मिलेर नयाँ सरकार बन्ने र विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लासँगै सेयर बजार निरन्तर उकालो लाग्नु संयोग मात्र भएको जानकारहरूको तर्क छ । किनकि नयाँ सरकार आएयता बजारसँग सम्बन्धित न कुनै नीति आएको छ न सम्बोधन नै भएको छ ।
‘ब्याजदर यसअघि नै घटिसकेको थियो, पर्याप्त तरलता रहेकाले बैंकहरूले लगानीकर्तालाई डाक्दै कर्जा दिनुपर्ने अवस्था बनिसकेको थियो । तर पनि लगानीकर्ताको आत्मविश्वास बढ्न सकेको थिएन,’ स्रोतले भन्यो, ‘अहिले एकातिर नयाँ सरकार र अर्कोतिर राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउने हल्लाले बजारमा सकारात्मक संन्देश प्रवाह गरेको हो ।’ यद्यपि बजार दिगो रूपमा बढ्नुको भरपर्दो कारण नरहेको स्रोतको दाबी छ ।
सरकारले सेयर बजारलाई सन्तुलित र मर्यादित ढंगले अघि बढाउन, बजारका समस्या सुन्न र समाधान गर्न चाहेकाले लगानीकर्ता उत्साहित देखिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको दाबी छ ।
‘हामी सेयर बजारका प्रति सन्तुलित र सही दृष्टिकोणका साथ प्रस्तुत हुन चाहन्छौं । यही कारण सेयर बजारले हामीलाई पत्याएको देखिन्छ,’ उनले भने, ‘यिनीहरूले गल्ती गर्दैनन्, ठीक प्रकारका नीति लिएर अघि बढ्छन् भन्ने विश्वास लगानीकर्ताहरूमा भएकाले बजारमा सकारात्मक प्रभाव परेको हो । यसलाई हामीले सरकारप्रति नागरिकको विश्वासका रूपमा लिएका छौं ।’