२०८१ कार्तिक १०, शनिवार , ०४:५७:३९ बजे

Sajhamanch
'

एमाले केन्द्रीय सदस्यलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिइँदै

बुधवार, असार २६, २०८१

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिने भएको छ ।

बुधवार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यलाई आफ्नै भूगोलमा फर्काउने निर्णय गरेको हो । गत वर्ष एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नो भूगोल भन्दा बाहिर जिम्मेवारी दिएको थियो ।

अब केन्द्रीय सदस्यहरुलाई आफ्नै भूगोलमा फर्काइने र सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए । यो कार्यविभाजन भने आगामी बैठकले गर्ने जनाइएको छ ।

केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिएपछि प्रदेश कमिटीले स्थानीय तहलाई र जिल्ला कमिटीले वडालाई आधार बनाएर नेताहरुको कार्यविभाजन गर्ने उनको भनाई छ ।

त्यस्तै, साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न एमालेले जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

हालसम्म अधिवेशन हुन नसकेका ११ वटा जिल्ला कमिटीलाई कात्तिकभित्र अधिवेशन गरिसक्ने निर्देशन दिएको छ । त्यस्तै, निर्वाचन क्षेत्र समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशत सदस्य मनोनयन गर्न र सचिवालय समिति बनाउन पाउने निर्णय बैठकले गरेको छ ।

सचिवालय बैठकले पार्टीको सहकारी तथा गरीबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिएको छ । त्यस्तै, भूमि व्यवस्था विभागमा सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिइएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित खबर