२०८२ भदौ ६, शुक्रवार , ०३:३९:५७ बजे

Sajhamanch
'

रास्वपा पनि सरकारबाट बाहिरिँदै, मन्त्रीहरुले सामुहिक राजीनामा दिंदै

बिहिवार, असार २०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिने तयारी गरेका छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिएका हुन् ।

‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान ८ बजे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ’, परियारले सञ्चारकर्मीलाई भने ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामुहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

सम्बन्धित खबर