२०८१ साउन ११, शुक्रवार , ०३:५३:३३ बजे

Sajhamanch
'

मन्दी र महँगीकाबीच उद्योग, व्यवसाय टिकाइरहनु सुखद सन्देशः कोशी प्रदेश प्रमुख

मङ्गलवार, जेठ २९, २०८१

मेचीनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुलुक आर्थिक मन्दी र महँगीको मारमा परिरहँदा स्वदेशमै उद्योग तथा व्यवसाय सञ्चालन हुनुले सुखद सन्देश प्रवाह गरेको बताएका छन् ।

मेचीनगर–७ को आयाबारीमा सञ्चालित माइ वल्र्ड रिकन्डिशन एण्ड सर्भिस सेन्टरको प्रथम वार्षिकोत्सव समारोहको मंगलवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

त्यसक्रममा विद्युतिय सवारी साधनको उद्घाटन गर्दै प्रमुख अतिथि खापुङले भने, ‘केही युवाले बेरोजगारी समस्यासँग जुध्दै आफ्नै ठाउँमा उद्योग, व्यवसाय शुरु गरेका छन्, स्वरोजगार सिर्जना गरेका छन्, अरुलाई रोजगारी दिएका छन्, टिकाएका छन्, यसले अरुलाई समेत हौसला थपेको छ ।’

देशमा केही हुँदैन, केही पनि गर्नै सकिँदैन भन्दै एसइई उत्तीर्ण गर्ने बित्तिकै वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको उल्लेख गर्दै उनले जोखिमको सामना गर्दै अघि बढ्न उद्योगी एवं व्यवसायीलाई शुभकामना दिए ।

एक फरक प्रसंगमा प्रदेश प्रमुख खापुङले व्यक्ति, परिवार, संघ–संस्था, निर्वाचित जनप्रतिनिधि लगायत सबैपक्ष मिलेर लागूऔषधसम्बन्धी समस्या निर्मूल पार्न सकिने धारणा राखेका थिए ।

कम्पनी परिसरमा आयोजित समारोहमा कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनाली, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङ, मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणि ओली, नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, नाटा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, समाजसेवी डिल्लीराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कम्पनीका कार्यकारी व्यवस्थापक ओमप्रकाश खापुङको अध्यक्षतामा भएको कार्यक्रममा शाब्दिक स्वागत एभरेष्ट अटो प्रालिका प्रबन्ध निर्देशक मिलन लिम्बू र सञ्चालन सञ्चारकर्मी भूमिका सुब्बाले गरेकी थिइन् ।