२०८१ साउन १२, शनिवार , १०:०६:३१ बजे

Sajhamanch
'

एकीकृत समाजवादीको अध्यक्ष बन्न तानातान : खनाल र नेपाल फेरि प्रतिस्पर्धामा ! कि भुसाल बन्छन् अध्यक्ष

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौँ । चार दशकयता पटकपटक पार्टी र सरकारको नेतृत्व तहमा रहेका माधवकुमार नेपाल र झलनाथ खनालले फेरि एकीकृत समाजवादीको अध्यक्ष बन्ने कसरत थालेका छन् ।

असार १६ देखि काठमाडौंमा हुने समाजवादीको महाधिवेशनमा उनीहरू नै अध्यक्षको आकांक्षी देखिएका हुन् ।

समाजवादीको अध्यक्ष रहेका नेपाल पूर्ववर्ती पार्टी एमालेमा तीन पटक महासचिव (२०५० मदन भण्डारीको निधनपछि, २०५४, २०५९) र २०६५ मा वरिष्ठ नेता थिए । उनी २०६६ मा प्रधानमन्त्री भएका थिए ।

खनाल पञ्चायतकालमा २०३९ मा नेकपा मालेको महासचिव, एमालेको एकपटक अध्यक्ष (२०६५) भए । उनी एकपटक प्रधानमन्त्री (२०७६) बनिसकेका छन् ।

दुवै नेता निरन्तर पार्टी र राज्यशक्तिमा रहँदै आएका छन् । तथापि दुवै महाधिवेशनमा प्रमुख कार्यकारी पदको आकांक्षी देखिएका छन् ।

एमालेबाट २०७७ मा अलग भई एकीकृत समाजवादी गठन गरेपछि अध्यक्ष र सम्मानित नेता रहेका नेपाल र खनाल आगामी महाधिवेशनमा अध्यक्षको आकांक्षी देखिएपछि महासचिव घनश्याम भुसाल लगायत दोस्रो पुस्ताका नेता हस्तक्षेप गर्ने तयारीमा छन् ।

एमालेबाट ‘विद्रोह’ गरेपछि नेपाल र खनाल पार्टी निर्माणभन्दा शक्ति प्राप्तिको लडाइँमा लागेको भन्दै युवा पुस्ताले नेतृत्वमा हस्तक्षेप गर्ने तयारी थालेको हो ।

केन्द्रीय सदस्य दामोदर अर्यालले पार्टी निर्माणका लागि युवा पुस्ताले हरेक कमिटीमा हस्तक्षेप गर्नुपर्छ भन्ने मान्यताका साथ आगामी महाधिवेशनमा तयारी रहेको बताए । ‘यो महाधिवेशनमा यो वा त्यो नेता होइन, युवा पुस्तामा नेतृत्व हस्तान्तरणका लागि हस्तक्षेपको तयारी छ’ उनले भनेका छन् ।

महासचिव घनश्याम भुसालले आफू अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने तयारीमा रहेको तल्ला कमिटीसम्म सन्देश पठाइसकेको उनी निकट नेताले बताए । ‘एमालेबाट विद्रोह गरेपछि माधव र झलनाथमा पार्टी निर्माणका लागि नेतृत्वमा पुस्तान्तरण हुने अपेक्षा थियो’ ती नेताले भने, ‘दुई नेतामा पदप्रतिको आशक्ति मात्र होइन, कार्यशैलीमा जडता देखियो । जसका कारण पार्टीमा आशालाग्दो मार्गदर्शन पनि भएन । पार्टीको काममा आशा र गति पनि आएन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरी एकीकृत समाजवादी निर्माण गरेको भन्दै नेपाल आफूलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने गृहकार्यमा छन् । नेपालको सर्वसम्मत हुने चाहनालाई खनालले नै चुनौती दिने तयारी गरेका छन् ।

‘एमालेबाट विद्रोह गरेकाले माधवजीलाई ससम्मान अध्यक्षबाट बिदा गर्नुपर्छ’ खनालले निकट नेतासँग भन्ने गरेका छन्, ‘माधवजीको विचारले पार्टीमा गति दिन सकेन । उहाँमा वामपन्थीपन ह्रास हुन थाल्यो । त्यसरी पार्टी बन्दैन । त्यसकारण मैले सशक्त विचारसहित अध्यक्षका लागि तयारी गरेको छु ।’

अध्यक्ष नेपालले अघि सारेको मार्गनिर्देशक सिद्धान्त बहुदलीय जनवादले समाजवादी क्रान्तिको आधार तयार गर्न नसक्ने भन्दै त्यसको सट्टा समाजवादको बाटो आफूले लिएको खनालको दाबी छ । ‘वामपन्थी एकतासहित समाजवाद’ को मार्गनिर्देशनले मात्र समाजवाद स्थापना गर्न सकिने खनालको तर्क छ ।

महासचिव भुसालले दुवै नेताले जबज र समाजवाद जे भने पनि पार्टी र राज्यको कार्यकारी पदका लागि भएको भन्दै कम्युनिस्ट आचरणसहित सामूुक नेतृत्वको पद्धतिले मात्र पार्टी निर्माण हुने तर्क गरेका छन् । त्यसका लागि ‘व्यक्ति पूजा होइन, सार्थक रूपान्तरणबाट सम्भव हुने’ गरी महाधिवेशनमा नेतृत्व रूपान्तरण हुनुपर्नेमा जोड दिएका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय समितिले गत पुसमा ७० वर्षे उमेर हद हटाइसकेको छ । ७० वर्ष पुगिसकेको व्यक्ति कार्यकारी पदमा नरहने गरी विधानको व्यवस्थालाई नेपाल र खनालको जोडबलले हटाइएको थियो । खनालले ‘विचार युवा हुनुपर्छ, उमेर होइन, विचारले पार्टी चलाउने हो, उमेरले होइन’ भन्दै आएका छन् ।

सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले महाधिवेशनबाट नेतृत्वमा पुग्न पाका र युवा पुस्ताका नेताले कार्यकर्तामाझ सन्देश पठाएको उल्लेख गर्दै औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बेला नभएको बताए ।

‘महाधिवशेनमा नेतृत्वमा पुग्न प्रतिस्पर्धा गर्नु स्वाभाविक हो’ उनले भने, ‘पहिलो र दोस्रो पुस्ता नेतृत्व लिन गृहकार्य गरिरहेको देखिन्छ । तर, अहिले नै औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बेला भने भएको छैन ।’

एमाले विभाजन भइसकेपछि पार्टीले अपेक्षित गति लिन नसकेकाले महाधिवेशनले सक्षम नेतृत्व र सशक्त नीति लिुनपर्ने सचिव रामकुमारी झाँक्रीको बुझाइ छ । पार्टी निर्माण गतिशील भए मात्र समाजलाई सही गति दिन सकिने उनले बताइन् ।

‘महाधिवेशनले पार्टीलाई गति दिने गरी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय हुनुपर्छ’ उनले भनिन्, ‘राजनीति भीडको पछि होइन, राजनीतिले भीडलाई सही दिशा दिनुपर्छ ।’

उनले पार्टीमा पुस्तान्तरण हुनुपर्ने विषय सैद्धान्तिक रूपमा सही भएको उल्लेख गर्दै विचारसहित नेतृत्व चयनमा महाधिवेशनले जोड दिने विश्वास गरिन् ।

‘पुस्तान्तरण मात्र मुख्य कुरा होइन । विचारसहित पुस्तान्तरण भयो भने मात्र पार्टी गतिशील बन्छ’ उनले भनिन्, ‘पार्टीको विधानमा उमेर हद नभएकाले नेतृत्वका लागि खुला बाटो छ ।’

गंगा बीसी कान्तिपुर

सम्बन्धित खबर