२०८१ साउन ११, शुक्रवार , ०४:५५:४२ बजे

Sajhamanch
'

वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । वैदेशिक रोजगारदाता कम्पनीहरूले अब अनलाइनबाट वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण गर्न पाउने भएका छन् । अहिलेसम्म सम्बन्धित दूतावास तथा कन्सुलर विभागमा भौतिक रूपमा उपस्थित भएर कागजी प्रक्रियामार्फत भइरहेको प्रमाणीकरण अब अनलाइनबाट शुरु भएको हो ।

पहिलो पटक हिजो संयुक्त अरब इमिरेट्सको अबुधाबीमा रहेको नेपाली दूतावासबाट यो सेवा शुरु गरिएको छ । यूएईबाट शुरु भएको अनलाइन सेवा क्रमशः अरु प्रमुख श्रम गन्तव्य देशहरु साउदी अरब, कतार, मलेसिया तथा खाडीका अरु देशमा पनि विस्तार हुने सरकारले जनाएको छ ।

प्रक्रिया अनुसारका आवश्यक कागजात प्रविष्ट गरेपछि राजदूतसहित तीन तहका अधिकृतले रुजु गरेपछि ठिक छ भन्ने प्रमाणीकरण गरेर प्रिन्ट गर्न मिल्ने गरी अनलाइनमा राखिने व्यवस्था गरिएको छ । आफ्नो कम्पनीको प्रमाणीकरण भयो वा भएन भन्ने कुरा पनि अनलाइनमार्फत नै हेर्न सकिने छ ।

प्रिन्ट गरेर रकम बुझाउन मात्र दूतावास पुग्दा हुन्छ । त्यसपछि रकम तिरेको भौचर राजदूतले हस्ताक्षर गरेको प्रमाणित कागजात अनलाइनमार्फत नै लिन सकिने व्यवस्थासमेत गरिएको कन्सुलर सेवा विभागले जनाएको छ ।

यो व्यवस्थाबाट दूतावासहरूमा हुने भीडभाड कम भई कार्यचाप कम हुने, विचौलिया निरुत्साहित हुने, कम्पनीहरूको बारेका दूतावासमा डिजिटल रेकर्ड रहने र त्यसले दूतावासबाट कामदार मागपत्र प्रमाणीकरण गराएर लगिएका कामदारहरूलाई समस्या परेमा मद्दत गर्न सघाउ पुग्ने सरकारको विश्वास छ ।

शुक्रवार, जेठ २५, २०८१ | परदेश (प्रवास), समाज

सम्बन्धित खबर