२०८१ साउन १२, शनिवार , ०६:३७:५८ बजे

Sajhamanch
'

आधारभूत वर्गको घरमा शुद्ध पिउने पानी पुर्याउनु हाम्रो मुख्य एजेण्डा : अध्यक्ष पदका उम्मेदवार आचार्य

बुधवार, जेठ २३, २०८१

मेचीनगर । झापाको मेचीनगरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यही जेठ २६ गतेका लागि तय गरिएको छ । सामाजिक संस्थाका रुपमा परिचित खानेपानी उपभोक्ता समितिको नेतृत्व चयनका लागि चाहिँ विगत लामो समयदेखि राजनीतिक दलको धेरै नै प्रभाव हुने गरेको छ । यो पटक पनि यस्तै भएको छ ।

सो निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट त्यहाँका खानेपानी उपभोक्ताहरु प्रगतीशिल समाजवादी प्यानल खडा गरी निर्वाचनमा होमिएका छन् । उक्त टिमको नेतृत्व सोही संस्थामा लामो अवधि काम गरेका जुझारु युवा सन्तोष आचार्यले गरेका छन् । पत्रकारितासँगै राजनीति एवम् सामाजिक सेवामा क्रियाशील आचार्यलाई निर्वाचनको प्रचारप्रसार एवम् घरदैलोकै क्रममा भेटेर पत्रकार प्रकाश पौडेलले सोधेका छन् :

काँकरभिट्टा खानेपानी उपभोक्ता समितिका अघिल्तिर के कस्ता चुनौतीहरु छन् ?

मुलतः यस आयोजनाको पहुँच क्षेत्रका आधारभूत वर्गलाई पानी पुर्याउनु अहिलेको प्रमुख चुनौती हो । जीवनका लागि पानी अनिवार्य तत्व हो । समाजमा आफ्ना हरेक आवश्यकताका लागि मूल्य चुकाउने एउटा वर्ग छ । हाम्रै समाजमा अर्काे यस्तो वर्ग छ, जसले खानेपानीको समेत मूल्य चुकाउन सकिरहेको छैन । उसले खानेपानीसमेत पाउन सकिरहेको छैन । त्यसैले हुनेसँग लिने र नहुनेलाई दिने हो भने यसको समाधान सम्भव छ । यो एउटा समाजवादी मोडल पनि हो । यसलाई कसरी मिलाउने भन्ने कुरा नेतृत्वको अघिल्तिर तेर्सिएको ठूलो चुनौती हो । यही मोडल अनुसार हामी अघि बढ्छौं र आधारभूत वर्गलाई स्वच्छ पिउने पानी वितरणमा दत्तचित्त हुनेछौं ।

तपाईंको नेतृत्वको टिमले अघि सारेका चुनावी एजेण्डाहरु पनि यस्तै यस्तै नै होलान्, कि अरु के छन् ?

विजयी भएपछि मैले मुलतः तीनवटा काम गर्ने भनेको छु । पानीको उत्पादनमा बृद्धि, त्यसको गुणस्तरमा नियन्त्रण र सेवामा विस्तार । यस कार्यका लागि आन्तरिक प्रशासनसँग सम्बन्धित जनमुखी सेवा र आर्थिक पारदर्शीता सहितको सुशासनलाई हामी कार्यान्वयन गराउने छौं ।

अर्को कुरा हामीमाझ उपभोक्ता शिक्षाको अभाव देखिन्छ । भोट केका लागि दिने, किन दिने जस्ता कुराहरु उठ्ने गरेका छन् । मतदातालाई शिक्षित गर्ने एउटा महत्वपूर्ण अभियान हामी सामु छ भने भने सदस्यहरुको स्वास्थ्य र सरसफाइलाई उत्तिकै प्राथमिकतामा राखेको छौं । हामीले घोषणापत्रमा समेत यस्ता धेरै कुरा समेटेका छौं ।

चुनावी मैदानमा होमिए पछि कस्तो अनुभूति गरिरहनु भएको छ ?

खानेपानी अविछिन्न उत्तराधिकारवाला संस्था हो । यो आम संघ–संस्थाभन्दा अलि बढी संवेदनशील र विशेषखालको संस्था पनि हो । किनकी यसले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ । जीवन जिउनको लागि अति आवश्यक महत्वपूर्ण शुद्ध पानी वितरण गर्नु यस संस्थाको मूल जिम्मेवारी हो । यो चानचुने कुरा पनि होइन । अहिले उम्मेदवार भएर मत मागिरहँदा म निक्कै संवेदनशील र सजग भएर जिम्मेवारी निर्वाहा गर्ने कुरामा मतदाताहरुलाई विश्वास दिलाइरहेको छु ।

तपाईंले आफ्नो प्रतिष्पर्धीलाई कसरी लिनु भएको छ ?

उहाँ मेरो दाई हुनुहुन्छ । उहाँ मेरो प्रतिष्पर्धी नभएर उहाँ शालीन भद्र र पुरानो काँकरभिट्टाबासी हुनुहुन्छ । म उहाँलाई सम्मान गर्छु ।

खानेपानी उपभोक्ता समितिलाई मेचीनगर नगरपालिकाले प्राधिकरण बनाउने कुरा अगाडि सारेको छ नि ? तपाईंको बुझाइमा के यो सकारात्मक सोचाई हो ?

नगरपालिकाले प्रदान गर्दै आएको सेवा कत्तिको प्रभावकारी छ भन्ने कुरामा आम नगरबासी प्रष्ट नै छन् । सरकारी सेवा नेपालमा कहीँ कतै प्रभावकारी भएको हामीले सुनेका छैनौं र त्यो सम्भव पनि छैन । नगरपालिकाले खानेपानी संस्थाहरुलाई नियन्त्रण गर्न र आफ्नो मातहतमा ल्याउन खोज्छ भने त्यसबेला जनताले स्वच्छ खानेपानी पाउनबाट बञ्चित हुने निश्चित छ । शुक्रबार पाइप फुट्यो भने मर्मतका लागि आइतबार अबेरसम्म पर्खनु पर्ने हुनसक्छ । हामी जनताको अधिकार कुण्ठित हुन दिँदैनौं । खानेपानी संस्थालाई नगरको मातहतमा ल्याउने काम गलत हुन्छ । हामी त्यसो हुन दिँदैनौँ । यो उपभोक्ताले नै चलाउनु पर्छ ।

अन्त्यमा केही भन्नु छ कि !

हामी खानेपानी संस्थाको चुनावी मैदानमा छौं । यो सामाजिक संस्था भएकाले नेतृत्वमा जान चाहनेले स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ । म त विचारले पनि प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मान्यता राख्छु । सस्तो लोकप्रियताका लागि कुनै पनि कुरा गर्नु हुँदैन । मानवीय जीवनसँग जोडिएको विधा भएकाले क्षमतावान व्यक्तिहरुलाई यो संस्थाको नेतृत्वमा पठाउनु तपाईं मतदाताको पनि जिम्मेवारी हो । यो सिक्नलाई जाने ठाउँ होइन, काममा दक्षता भएका र अनुभवी व्यक्तिहरु त्यहाँ पुग्न जरुरी छ । म विगत लामो समय काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको कर्मचारीका रुपमा तपाईंहरुकै सेवा गरेको व्यक्ति भएकाले पक्कै पनि योग्य छु । यही विश्वासका साथ अध्यक्ष पदमा तपाईंको अमूल्य मत पाउने अपेक्षा पनि गरेको छु । धन्यवाद ।