संयुक्त राष्ट्रसंघको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध शुरु भएयता गाजापट्टीमा करिब ५५ प्रतिशत संरचना क्षतिग्रस्त भएका छन्।राष्ट्रसंघीय स्याटेलाइट विश्लेषण एजेन्सी यूएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित भएको विश्लेषणबाट पत्ता लागेको बताएको छ।
यो अनुमान मे ३ मा लिइएको स्याटेलाइट तस्विरमा आधारित छ। यसको तुलना गत वर्षको मे, सेप्टेम्बर र हमासले इजराइलमाथि आक्रमण गरेको अक्टोबर ७ भन्दा ठिक एक सातापछि अक्टोबर १५ मा लिइएको तस्विरसँग गरिएको छ। हमासले गरेको आक्रमणपछि युद्ध शुरु भएको थियो।पछिल्लो स्याटेलाइट तस्बिरको तुलना नोभेम्बरमा धेरै मितिमा लिइएका तस्विरसँग पनि गरिएको थियो। ‘स्याटेलाइट इमेजरी विश्लेषअनुसार युएनओएसएटीले ३६ हजार ५९१ ध्वस्त संरचनाहरूको पहिचान गरेको छ’, एजेन्सीले विज्ञप्तिमा भनेको छ।
यसका साथै १६ हजार ५१३ गम्भीररूपमा ध्वस्त संरचना, ४७ हजार तीन सय ६८ सामान्यरूपमा क्षतिग्रस्त संरचना र कूल एक लाख ३७ हजार २९७ संरचनामा ३६ हजार ८२५ सम्भावित क्षतिग्रस्त संरचना देखिएको एजेन्सीले उल्लेख गरेको छ।विज्ञप्तिमा भनिएको छ, ‘यो गाजापट्टीमा कूल संरचनाको करिब ५५ प्रतिशत र कुल एक लाख ३५ हजार एक सय ४२ अनुमानित क्षतिग्रस्त आवास एकाइअनुरूप हो।’
केन्द्रमा दिर अल–बलाह र उत्तरमा गाजाको गभर्नरेटमा अप्रिल १ देखि मे ३ को बीचमा धेरै नोक्सान भएको स्याटेलाइट तस्विरबाट थाहा भएको यूएनओएसएटीले जनाएको छ।उक्त मितिमा स्याटेलाइट तस्विरको तुलना गर्दा दिर अल–बलाहमा थप दुई हजार ६१३ संरचना क्षतिग्रस्त भएको र मात्र एक महिनामा गाजा गभर्नरेटमा थप दुई हजार ३६८ संरचना ध्वस्त भएको थियो।एजेन्सीले निष्कर्ष प्रारम्भिक विश्लेषणको भाग भएको र यसलाई अझै पनि फिल्डमा मान्य हुन बाँकी रहेको जनाएको छ।