२०८१ साउन ११, शुक्रवार , ०३:३३:११ बजे

Sajhamanch
'

झापाली समाज अमेरिकाको पहलमा विद्यार्थीले पाए छात्रवृत्ति, सहकारी संघले घोषणा गर्यो एक करोडको कोष

मङ्गलवार, जेठ १५, २०८१

बिर्तामोड । अमेरिकामा बसोबास गर्ने झापालीहरुको साझा संस्था झापाली समाज अमेरिकाको अग्रसरतामा झापा जिल्लाका सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

मंगलवार बिर्तामोडमा ‘भविष्यका कर्णधार छात्रवृत्ति वितरण कार्यक्रम’ आयोजना गरेर उक्त समाजले जिल्ला सहकारी संघ झापा र झापा विकास मञ्च काठमाडौंको सहकार्यमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्दार विद्यार्थीलाई तेस्रो वर्षको कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको कार्यक्रममा बताइयो ।

शिक्षा विकास तथा समन्वय इकाईका जिल्ला प्रमुख राजकुमार विकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

सो अवसरमा छात्रवृत्ति पाउने विद्यार्थी, उनीहरु पढ्ने विद्यालयका शिक्षक र अभिभावकहरुको समेत सहभागिता थियो । झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम अन्तर्गत ‘एक व्यक्ति, एक विद्यार्थी’ नामक अभियान नै सञ्चालन गरेर रकम जुटाएको थियो ।

त्यस्तै, सोही कार्यक्रममा जिल्ला सहकारी संघ झापाले छात्रवृत्ति कोषको घोषणा गरेको छ । एक करोड रुपैयाँको कोष स्थापना गर्ने उद्देश्यले उक्त कोषको घोषणा गरिएको हो ।

कोषका लागि संघका अध्यक्ष गणेश ढकाल र वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले एक/एक लाख तथा सचिव भवानीप्रसाद दंगालले ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

सो कार्यक्रममा झापाली समाज साउदी अरेबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज अमेरिकाका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानालाई छात्रवृत्ति कार्यक्रमका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

जिल्ला सहकारी संघ झापा मार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानलाई सहयोग गरेका छन् । झापाका सबै क्षेत्र समेटिने गरी सामुदायिक विद्यालयहरु छनोट गरिएको कार्यक्रममा जनाइयो ।

यसैबीच, उक्त कार्यक्रममा झापाली समाज अमेरिकाले कनकाई नगरपालिकालाई शव वाहनको चाबी हस्तान्तरण गरेको छ ।

झापाली समाज अमेरिकाको पहलमा रकम संकलन गरी शव वाहन खरिद गर्न रकम पठाइएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि विक, झापा विकास मञ्चका डाक्टर आनन्द श्रेष्ठ, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शाब्दिक स्वागत संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी र सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

सम्बन्धित खबर