२०८१ साउन १२, शनिवार , ०६:५७:४५ बजे

Sajhamanch
'

झापा अध्यक्ष कप भलिबलः झापा, मोरङ र सोलुखुम्बु विजयी

बुधवार, जेठ २, २०८१

झापा । झापा गाउँपालिका चौथो अध्यक्ष कप आमन्त्रित पालिकास्तरीय रात्रिकालीन भलिबल प्रतियोगितामा झापा (रातो), मोरङ, सोलुखुम्बु र झापा (निलो) विजयी भएका छन् ।

मंगलवार (हिजो) साँझदेखि झापा–६ को शरणामतीस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको उद्घाटन खेलमा भोजपुरलाई २–१ को सेटमा हराउँदै झापा रातो विजयी भएको हो ।

झापा रातोले भोजपुरलाई २०–२५, २५–२२ र २५–१५ को सेटमा हराएको हो । खेलको प्लेयर अफ द म्याच झापा रातोका अमृत मल्ल ठकुरी भए । त्यस्तै, हिजै भएको दोस्रो खेलमा मोरङले तेह्रथुमलाई २–० को सोझो सेटमा हराउँदै विजयी भयो ।

मोरङले २५–१९ र २५–१४ को सोझो सेटमा तेह्रथुमलाई हराएको हो । खेलको प्लेयर अफ द म्याच मोरङका सुशान राई भए ।तेस्रो खेलमा संखुवासभालाई २–० को सोझो सेटमा हराउँदै सोलुखुम्बुले जितको सुरुवात गर्यो ।

खेलको प्लेयर अफ द म्याच सोलुखुम्बुका विष्णु बस्नेत भए । चौथो खेलमा आयोजक झापा निलोले २–१ को सेटमा चितवनलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

खेलको प्लेयर अफ द म्याच झापाका भरत यादव भए । पहिलो चरणका सम्पूर्ण खेलहरु बेस्ट अफ थ्रीका आधारमा खेलाइएको छ । दोस्रो चरण अर्थात आजबाट बेस्ट अफ फाइभका आधारमा खेलहरु हुनेछन् ।

उत्कृष्ट चारबाट सुपर लिगको आधारमा अंक जोडेर उत्कृष्ट दुई टीमबीच फाइनल खेलाइने आयोजक समितिले जनाएको छ ।

झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्य एवं खेल सञ्चालक समितिका अध्यक्ष रोहित शिवाकोटीको अध्यक्षतामा प्रतियोगिता उद्घाटन कार्यक्रम भएको थियो ।

अनोज ताम्लीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सञ्चालक समितिका सल्लाहकार संयोजक गजेन्द्र ताम्लीले गरेका थिए ।