२०८१ साउन १२, शनिवार , ११:०२:०६ बजे

Sajhamanch
'

बेल्जियममा नै अस्ताए कलाकार उज्ज्वल केसी

मङ्गलवार, जेठ १, २०८१

बार्सिलोना । बेल्जियम निवासी कलाकार उज्ज्वल केसीको निधन भएको छ । ५४ वर्षीय केसीको शनिबार निधन भएको हो ।पारिवारिक स्रोतका अनुसार उनको हृदयघातबाट बेल्जियमस्थित निवासमा नै निधन भएको हो ।ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल मूल घर भएका केसी दुई दशकदेखि बेल्जियममा परिवारसँगै बस्दै आएका थिए ।

उनको परिवारमा श्रीमती र दुई छोरी रहेका छन् । पारिवारिक स्रोतका अनुसार दिवंगत केसीको अन्त्येष्टि बुधबार बेल्जियममै गरिनेछ ।केसी नेपाल चलचित्र कलाकार संघका सदस्य समेत थिए । दर्जनौं म्युजिक भिडियोमा निर्देशन गरेका उज्ज्वल युरोपमा बसेर पनि नेपाली कला क्षेत्रमा सक्रिय थिए ।

उनले केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका छन् । नेपाली सिनेजगतमा उदाउँदै गर्दा नायिका श्रीषा कार्कीसँग त्यतिबेला उज्ज्वलले चलचित्र ‘फुटपाथमा सँगै काम गरेका थिए । उनले नेपाल टेलिभिजनमा ‘दि भोइस’ नामको पनि कार्यक्रम संचालन गरेका थिए ।गायक रामकृष्ण ढकालको ‘हावाले’ बोलको गीतको भिडियो पनि उनले नै निर्देशन गरेका हुन् । फ्रान्स, बेल्जियम र नेदरल्यान्ड्सका दृश्यहरु छायांकन गरेर उज्ज्वल ले नै सम्पादन गरेका थिए । उनी पूर्वरेडियोकर्मी समेत हुन् ।

आफ्नो जीवनकै पहिलो गीत रेडियोमा बजाएर गुन लगाएको भन्दै गायक हिमाल सागरले उज्ज्वलको सम्झना गरेका छन्। ‘चन्द्रमा झै मुहार तिम्रो’ मेरो जीवनकै पहिलो गीत दाइले क्लासिक एफएममा पहिलो पटक बजाइदिनु भएको थियो,’ उनले भाव पूर्ण श्रद्धान्जली भन्दै लेखेका छन्,‘मेरो रिलेसन एल्बमको पहिलो भिडियो पनि उहाँले नै बनाउनु भएको हो । दुस्खद खबरले मर्माहत बनेको छु।’

सम्बन्धित खबर