२०८१ जेठ ६, आइतवार , १०:३४:२२ बजे

Sajhamanch
'

विराटनगरमा परिवार संवाद कार्यक्रम शुरु, श्रीमान–श्रीमतीबीचको विवाद घट्ने अपेक्षा

मङ्गलवार, वैशाख २५, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम शुरु गरेको छ ।

महानगरले विराटनगर वडा–८ सुकुम्वासी बस्तीमा उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलवार परिवार संवाद कार्यक्रम शुरु गरेको हो ।

सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

महानगरले साझा सवालका लागि साझा मञ्च (कोकन) सँग सहकार्य गरेर परिवार संवाद शुरु गरेको जनाइएको छ । उनका अनुसार परिवार संवादले श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने छ ।

पछिल्लो समय सामान्य विषयलाई लिएर पनि सम्बन्धविच्छेदका घटना बढ्दै जानुका साथै परिवारमा हिंसासमेत हुने गरेको पाइएको छ ।

यस्ता कार्यक्रमले लैङ्गिक हिंसा न्यूनीकरण हुनुका साथै परिवारमा हुने बेमेलसमेत कम हुने उपप्रमुख कार्की बताउँछिन् ।
परिवार संवादलाई अझै व्यापक बनाइने उनको भनाई छ ।

श्रीमान र श्रीमतीलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दुवै जनाको दायित्वका विषयमा समेत जानकारी गराउने गरेको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिइन् ।

कार्यक्रम सञ्चालनपछि परिवारमा सुमधुर सम्बन्ध भई सम्बन्धविच्छेदमा कमी आउने, एकअर्काको भावना बुझ्ने, मदिरा सेवन गर्ने क्रममा कमी आउने, दुव्र्यशनमा नफँस्ने, आर्थिक बोझ कम हुने र लैङ्गिक विभेद न्यूनीकरण हुने उनको भनाइ छ ।

आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवन लगायत कारणले परिवारमा समस्या देखिने गरेको कोकनका सल्लाहकार अधिवक्ता कोषराज न्यौपाने बताउँछन् ।

यस्ता कार्यक्रमले श्रीमान–श्रीमती मात्रै नभएर परिवारबीचको सम्बन्ध सुमधुर भई सुखी र खुशी पारिवारिक जीवन व्यतित गर्न सहयोग पुग्ने न्यौपानेको दाबी छ ।

वडाध्यक्ष राम पोखरेलले कार्यक्रम सञ्चालनपछि वडामा पारिवारिक विवाद कम हुने विश्वास व्यक्त गरे ।

विराटनगर–८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन हुने कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले जानकारी दिए ।

त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान–श्रीमती दुवैजनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए ।

सम्बन्धित खबर