२०८१ जेठ ६, आइतवार , १०:३४:१२ बजे

Sajhamanch
'

गण्डकीमा मन्त्रिपरिषद् विस्तार : एमालेबाट नवनियुक्त मन्त्री गुरुङ र सुन्दासको सपथ

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा एमालेका वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्री गुरुङ र सुन्दासलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा पद तथा गोपनीयताको सपथ खुवाउनुभयो ।

मुख्यमन्त्री अधिकारीले अस्ति आइतवार मात्रै प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । गएको चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ र आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई नियुक्त गर्नुभएको थियो । गण्डकी प्रदेश सरकारमा सात वटा मन्त्रालय रहेकोमा मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै बाँकी छ ।

यसैबीच नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीेले विश्वासको मत लिने क्रममा भएका गतिविधिप्रति असहमति जनाएको छ । कांग्रेसले विज्ञप्तिमार्फत् नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त गरेका अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेकोमा कांग्रेसले विरोध जनाएको हो । यस्तो कार्य संविधान विपरित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर