२०८१ जेठ ५, शनिवार , १०:४२:०७ बजे

Sajhamanch
'

बागमती प्रदेशमा ११ हजार डेङ्गु संक्रमित

आइतवार, वैशाख २३, २०८१

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु संक्रमित फेला परेका हुन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ४ सय ९ जना नयाँ डेङ्गु संक्रमित फेला परेका बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसमध्ये सबैभन्दा बढी धादिङमा ३ हजार ५ सय १ र सबैभन्दा कम रसुवामा २ जना नयाँ डेङ्गु संक्रमित भएका स्वास्थ्य निर्देशनालयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा काठमाडौंमा ३ हजार, चितवनमा १ हजार ७ सय ८, मकवानपुरमा ८ सय ५७, भक्तपुरमा ४ सय ९४, काभ्रेपलाञ्चोकमा १ सय ६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेङ्गु संक्रमित फेला परेका छन् ।

डेङ्गु संक्रमणबाट हालसम्म मकवानपुरमा १ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

गर्मी मौसम शुरु भएसँगै डेङ्गु संक्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै प्रदेशभर लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुरु गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक दिपकप्रसाद तिवारीले बताए ।

सम्बन्धित खबर