२०८१ वैशाख २०, बिहिवार , ०२:४४:४४ बजे

Sajhamanch
'

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ । आज भएको खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायो ।

नेपालले दिएको १२० रनको सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनायो । नेपालका सन्दीप जोराले अर्धशतक बनाए । सन्दीप ४० बलमा ५० रन बनाएर आउट भए । यस्तै गुल्सन झाले २०, करण केसीले १७ रन बनाए । यसैगरी कुशल भुर्तेल पहिलो बलमै आउट भए । अन्य ५ जना ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यूएईका जुनैद सिद्दिकी, अली नसीर र बसिल हमीदले समान २ विकेट लिए ।

एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा आजै ओमान र हङकङ खेल्दैछन् । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

सम्बन्धित खबर