२०८१ वैशाख १९, बुधवार , ०३:३५:३१ बजे

Sajhamanch
'

मुठभेडमा २९ माओवादी मारिए: भारतीय प्रहरी

बुधवार, वैशाख ५, २०८१

काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ ।

सो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् ।

छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो । शुरुमा १८ जना माओवादी मारिएको प्रहरीले जानकारी दिएको थियो ।

पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो । बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् ।

लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपील गरेको थियो । भारतीय प्रहरीका आईजीपी सुन्दरराजका अनुसार प्रहरी कारबाहीमा भारतीय माओवादी नेताहरु शंकर राव, ललिता माडवीसहित २९ जना माओवादीहरु मारिएका छन् ।

भारत सरकारले शंकर राव र ललिता माडवीको टाउकोको मूल्य २५–२५ लाख भारतीय रुपैयाँ तोकेको थियो । प्रहरीका अनुसार एके फोर्टिसेभेन, एन्सास, कार्बाइन लगायतका हतियारहरु पनि बरामद भएका छन् ।

प्रहरीले घाइते प्रहरीहरुको उपचार र घटनास्थलमा सर्च अभियान जारी रहेको जनाएको छ ।

सम्बन्धित खबर