२०८१ पौष २६, शुक्रवार , ०३:५४:४१ बजे

Sajhamanch
'

सहारा नेपाल साकोसको स्थापना दिवसमा डा. विकासानन्दको चार दिवसीय प्रवचन

बिहिवार, चैत २२, २०८०

झापा । नेपालकै नम्बर वान सहकारी संस्था झापाको सहारा नेपाल साकोस लिमिटेडको २९औं स्थापना दिवस चैत २१ गतेदेखि २४ गतेसम्म विशेष कार्यक्रमका साथ भइरहेको छ ।

प्रतिनिधि सभाका सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा बुधबार उद्घाटन गरिएको २९औं स्थापना दिवस समारोहमा उनले आजको दिनमा नेपालमै बसिरहेर के हुन्छ र ! भन्ने सोच बनाउने वर्गलाई सहारा नेपालमा आएर बुझ्न सुझाव दिएका छन् ।

‘प्रतिनिधि सभाको बैठकमा सहकारी संस्थाहरुका विषयमा भइरहेको छलफल र आक्रोसहरु सम्झेर म तपाईंहरुको निम्तो स्वीकार गर्ने पक्षमा थिइँन’ नेपाली कांग्रेसका नेता सिंहले भने, ‘तर हाम्रो झापाका सभापति लगायतले यो संस्थाको बारेमा धेरै राम्रा कुरा गर्नु भएकोले आएर हेर्दा म कन्भिन्स भइसकेको छु । यस संस्थाले गरेका समुदायको सामाजिक आर्थिक रुपान्तरणका कार्यहरु प्रशंसनीय रहेछन् सहारा नेपाल यत्तिकै नेपालको नम्बर वान सहकारी भएको रहेनछ ।’

वित्तीय कारोबार, सामाजिक सेवा एवम् सदस्य संख्याका आधारमा नेपालकै ठूलो सहारा नेपाल साकोसले आफ्नो स्थापना दिवसको सन्दर्भमा डा. योगी विकासानन्दको सानिध्यमा जीवन बदल्ने कार्यक्रम, सुपरलर्निङ तथा तनाव ब्यवस्थापन कार्यक्रम पनि गरेको छ ।

‘मेरो गौरव, मेरो सहारा, सधैंका लागि सबैका लागि’ नारा दिएको सहारा नेपाल साकोसले चैत २१ गते जीवन बदल्ने कार्यक्रम सञ्चालन गरेको हो भने चैत २२ र २३ गते नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी युवा लक्षित कार्यक्रम ‘सुपर लर्निङ’बारे डा. योगी विकासानन्दले प्रवचन गर्ने कार्यक्रम तय भएको छ । यस्तै चैत २४ गते तनाव व्यवस्थापन सम्बन्धी प्रवचन दिने कार्यक्रम रहेको छ ।

कार्यक्रम उद्घाटन समारोहमा सहारा नेपालका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै डा. योगी विकासानन्दले सहाराको सफलता र अरु केही सहकारीको असफलताको अध्ययन गरी पिएचडी गर्नका लागि विद्वानहरुलाई आह्वान गरे ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित सो समारोहमा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले २०८० फागुन मसान्तको वासलात बारे चर्चा गरेका थिए ।

सहारा नेपाल साकोसले कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका ८१ वटा सेवाकेन्द्र मार्फत १ लाख ६९ हजार १९२ जना सेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको गिरीले बताए ।

१ अर्ब ६८ करोड ११ लाख ५६ हजार ७०० रुपैयाँ शेयर पुँजी रहेको सहाराको जगेडा कोष १ अर्व २४ करोड २ लाख १७ हजार ४३० रुपैयाँ पुगेको गिरीले जानकारी दिए ।

सहारा नेपाल सेयर सदस्यहरुको जगमा उभिएको संस्था भएकाले कुनै दिन सदस्यको बचत चप्काएर भाग्छ कि भन्ने चिन्ता नभएको प्रष्ट पार्दै कार्यकारी प्रमुख गिरीले अबको १० वर्षमा गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य एवम् स्वरोजगार सिर्जनामा नेपालकै सक्षम संस्था पनि हुने विश्वास पनि दिलाएका छन् ।

सामाजिक क्षेत्रमा सहकारीहरु मध्येकै अग्रणी संस्थाको रुपमा परिचित सहारा नेपालले बिरामीको औषधोपचारमा ८० प्रतिशत सहयोग गर्दै आएको तथा विभिन्न सामाजिक कार्यमा चालू आर्थिक वर्षको हालसम्म ५६ करोड २९ लाख ९९ हजार ३०० रुपैयाँ सहयोग प्रदान गरिसकेको उनले बताए ।

सो कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले शाब्दिक स्वागत गरेका थिए भने ग्लोबल एजुकेशन एकाडेमी सुरुङ्गाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

पत्रकार केशव भट्टराईले सञ्चालन गरेको सो स्थापना दिवस समारोहमा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, माओवादी केन्द्रका नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री झलकसिंह दर्लामी र राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले सहाराको सामाजिक एवम् वित्तीय योगदानका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर