२०८१ असोज ३, बिहिवार , ०९:३८:३३ बजे

Sajhamanch
'

मलेसियामा सुरक्षा गार्डबाहेक विदेशी कामदारको भिसा प्रमाणीकरण रोकियो

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम रोकेको छ। मलेसिया सरकारले गत महिना नै आगामी मे ३१ तारिकभित्र प्रमाणिकरण भइसकेका विदेशी कामदार ल्याइसक्नुपर्ने सूचनामार्फत सम्बन्धीत पक्षलाई सूचित गराएसँगै दूतावासले यसबारे जानकारी गराएको हो।

मलेसियाको अध्यागमन विभागको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनामा ३१ मार्च २०२४ देखि विदेशी कामदारलाई कलिङ भिसा जारी नगरिने घोषणा गरिएको छ। दूतावासमा २२ मार्चअघि नै प्रमाणीकरणका लागि पेस भएका थुप्रै फाइलको प्रमाणीकरण रोकिएका कारणले त्यस्ता फाइलहरूको चाङ नै लागेको समेत बताएको छ।

नेपाली दूतावासले गत शुक्रबार एक सूचना जारी गर्दै सुरक्षागार्ड बाहेकका अन्य मागपत्र प्रमाणीकरण मे ३१ पछि स्थगित गरिएको जनाएको छ। प्रमाणीकरणका लागि फाइलहरू प्राप्त गर्न सक्ने छैन भनी सबै सम्बन्धित सरोकारवालाहरूलाई सूचितसमेत गराएको दूतावासको सूचनामा भनिएको छ।

मे महिनाभित्र विदेशी कामदार नआएको कोटा खारेजीमा पर्ने मलेसियाका गृहमन्त्रालयले जनाएअनुसार नै मे ३१ तारिकपछि भिसा प्रभाणिकरणका काम नहुने दूतावासले जनाएको हो। मलेसिया सरकार निर्णयअनुुसार तत्कालका लागि भिसा प्रमाणिकरणको काम रोकिएको दूतावासका कन्सुलर खेमनाथ भुसालले जानकारी दिए। यसका आएका सबै माग प्रमाणिकरणका काम भइरहेका छ। मे ३१ पछि आउने मागको काम रोकिने उनको भनाइ छ।

नेपाली म्यानपावर कम्पनीमध्ये आधाभन्दा बढी मलेसियाको रोजगारीमा कामदार पठाउँदै आएका छन्। ४० भन्दा बढी म्यानपावर कम्पनीले मलेसियाको रोजगारीमा निर्भर रहेका छन्। मलेसिया सरकारको पछिल्लो निर्णय नेपालको श्रम बजारमा समस्या पर्ने वैदेशिक रोजगार व्यवसाय संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए। यस विषयमा कुटनीतिक पहल आवश्यक रहेको उनको भनाइ छ।

मलेसिया सरकारको पछिल्लो निर्णयले धेरै व्यवसायीलाई नवीकरणका लागि अनिवार्य गरिएको सय संख्याको कोटा पुर्‍याउन हम्मे पर्ने देखिएको म्यानपावर कम्पनीहरुले बताउन थालेका छन्।