न्यूयोर्क । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको नेपालका संघीय मन्त्री भगवती चौधरीले बताएकी छन् ।
गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौति पुरुषलेभन्दा बढी महिलाले भोग्नु परेको दावी गरेकी हुन् ।
अमेरिकाको न्यूयोर्कमा भइरहेको युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले महिलाले विश्वको आधा जनसंख्याको आधा सम्भावना बोकेको भएता पनि विश्वव्यापी लैङ्गिक समानता हासिल गर्न चुनौतिहरु रहेको प्रष्ट पारेकी हुन् ।
‘सेक्युरिटी जनरलको रिपोर्टले काम गर्ने समय, रोजगारी, वित्तीय समावेशीकरण, वित्तीय स्रोतमा पहुँच र सामाजिक सुरक्षामा महिला र पुरुषबीचको ठूलो अन्तर देखाउँछ । सामाजिक सुरक्षा, समावेशी दिगो विकास लक्ष्य हासिल गर्न लैङ्गिक समानता, महिला सशक्तीकरण महत्त्वपूर्ण रहेको छ । यसैले नेपालले महिला र युवतीहरुको अधिकार र मुद्दालाई सधैं उच्च प्राथमिकतामा राखेको छ’ आफ्नो देशको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले यस्तो धाराणा राखेकी हुन् ।
नेपालको संविधानले महिला र युवतीहरुको पारिवारिक मामिला र सम्पत्तिको हक लगायत मौलिक हकको प्रत्याभूति गरेको भन्दै मन्त्री चौधरीले नेपालमा महिला र युवतीहरुको संघीय र प्रादेशिक संसदको ३३ प्रतिशत, स्थानीय सरकारमा ४० प्रतिशत सिटको ग्यारेन्टी गरेको विश्व समुदायलाई सुनााइन् ।
‘हामीले हाम्रो विकास प्रयासमा लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता दिएका छौं । १६औं पञ्चवर्षीय आवधिक योजनामा लैङ्गिक जवाफदेही शासन प्रणालीलाई समावेश गर्न प्रतिबद्ध छौं’ संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रबाट प्रतिनिधित्व गर्ने महिलाहरु माझ मन्त्री चौधरीको भनाई छ ।
मन्त्री चौधरीले जमिन र सम्पत्तिमा एक तिहाइ महिलाको स्वामित्व रहेको बताउँदै लघु, साना र मझौला उद्यममा महिलाहरुको सहभागिता बढिरहेको बताइन् । उनले भनिन्, ‘करिब ४५ प्रतिशत लघु, साना र मझौला उद्योगहरु महिलाद्वारा सञ्चालित छन् । सहकारीमा ५६ प्रतिशत महिला छन् । यसले आर्थिक स्वतन्त्रतालाई दिगो बनाउन योगदान गरेको छ ।’
यति प्रगति भए पनि गरिबी सम्बोधन गर्न श्रोत साधनको अभाव भएकाले असमानताहरु कायमै रहेको उनको भनाई छ ।
विश्व समुदायसँग मन्त्री चौधरीले नेपाल अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न, लैङ्गिक समानता र सबै महिला र युवतीहरूको सशक्तिकरण, शिक्षा, रोजगारी, उद्यमशीलता, स्रोत र सम्पत्तिमा समान पहुँच प्रदान गर्न, संस्था र क्षमताको कमीलाई सम्बोधन गर्न, महिला तथा बालिकाको विकासमा लगानी गर्न प्रतिबद्ध रहेको प्रष्ट पारेकी छन् ।