२०८१ मंसिर १३, बिहिवार , ०२:३८:३७ बजे

Sajhamanch
'

कमलमा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया कार्यक्रम

शनिवार, चैत ३, २०८०

कमल । कमल नगर जेसीसको आयोजनामा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ ।

झापाको कमल गाउँपालिका न्यायिक समितिको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख, न्यायिक समिति र मेलमिलापकर्ता बीच भगिनी सम्बन्ध स्थापना गर्ने समेत प्रयास भएको छ । सो कार्यक्रममा छिमेकी पालिकाका न्यायिक गतिविधिहरू बारे एकापसमा जानकारी आदान प्रदान गरिरएको थियो ।

न्यायिक समितिमा उजुरी पेश गर्दा आवश्यक कागजातको तयारी कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक कमलनगर जेसीजले जनाएको छ ।

कार्यक्रममा न्यायिक समितिका संयोजकहरु दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई (प्रसाईं), शिवसतासी नगरपालिका उपप्रमुख नरमाया कार्की, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने (कुंवर), इलामको चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बू, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले न्यायिक समितिमा रहेर पालिकामा न्याय सम्पादन गर्दाका अनुभव र चुनौतीका बारेमा आ आफ्नो अनुभव जानकारी गराएका थिए ।

त्यस्तै पालिकामा रहेका न्यायिक समितिका सदस्य र मेलमिलापकर्ताले समेत मेलमिलाप गराउँदा आइपरेका समस्या र चुनौतीका विषयमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्थानीय तहको कानुन अनुसार उपाध्यक्षलाई १२ वटा समितिको संयोजक रहने व्यवस्था मिलाएको बताइन् । यति धेरै समितिहरुको संयोजक भएर काम गरिरहँदा न्यायिक समितिमा रहेर न्याय सम्पादन गर्न अत्यन्तै चुनौति रहेको अनुभव सुनाइन् । अझैपनि कस्ता कस्ता मुद्धा न्यायिक समितिले हेर्न पाउने भन्ने सबैलाई जानकारी नभएकोले समेत समस्या आउने गरेको उपाध्यक्ष न्यौपानेको भनाई थियो ।

झापा जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा पालिकामा रहेका न्यायिक समिति तल्लो तहका न्यायपालिका नै रहेको उनले बताए । फौजदारी मुद्दा बाहेक देवानी प्रकृतिका सबै मुद्दालाई न्यायिक समितिले हेर्न पाउने गरी सम्बोधन भएको उनको भनाई छ ।

न्यायाधीश ओझाका अनुसार गाउँ समाजबाट अदालतमा पुग्ने १० देखि १५ प्रतिशत मुद्दा न्यायिक समितिले घटाएकाले सबै जिल्ला अदालतमा मुद्दाको भार घटेको छ ।

कमल नगर जेसीज वर्ष २०२४ का अध्यक्ष देवीप्रसाद दाहालले पालिकाका विभिन्न तहमा रहेर कानुन अध्ययन नगरे पनि व्यवहारले अनुभव प्राप्त भएर न्याय निरुपण गरिरहनु भएका न्यायिक समित संयोजक, समितिका सदस्य मेलमिलापकर्ता लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

सम्बन्धित खबर