२०८१ पौष २७, शनिवार , ०५:०२:२६ बजे

Sajhamanch
'

विराटनगरमा स्टाफ नर्सको विभत्स शव शौचालयमा

शुक्रवार, चैत २, २०८०

विराटनगर । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ ।

विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका हुन् ।

डीएसपी दाहालका अनुसार उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा फालिएको अवस्थामा उनको शव भेटिएको डीएसपी दाहालले बताए ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा आज दिउँसो शव फेला परेको हो । दासको घाँटी, अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उनी माथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ ।

‘शव एट्याच कोठाको शौचालय भित्र भेटिएको छ, हत्या शौचालयमा भएको हो कि कोठामा भन्ने विस्तृत रुपमा खुलेको छैन’ उनले भने, ‘परिवारका सदस्यलाई खबर गरेका छौं, आफन्त आइपुगेपछि थप विषय खुल्छ ।’

हत्यामा संलग्नको खोजी भइरहेको उनले बताए । उनको हत्यामा प्रेमीको संलग्नता भएको हुनसक्ने प्रहरीको दाबी छ ।

सम्बन्धित खबर